मटिहानीमा पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोडको क्षति

महोत्तरीः जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको क्षति भएको छ। स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा क्षति भएको हो।
महतोको पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालवस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। यस्तै सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा डेढ करोड बराबरको क्षति भएको विष्टले बताए।
मटिहानी नगरपालिकासँग वारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको वारुणयन्त्र हेटौंडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो। यद्यपि, करिब दुई घण्टापछि स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ।
फागुन २१, २०७८ शनिबार ११:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।