छाडा कुकुर नियन्त्रण गर्दै इटहरी उपमहानगर: बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइँदै

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले छाडा कुकुर नियन्त्रणको अभियान चलाएको छ। उपमहानगरले स्थायी बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाएर छाडा कुकुरको संख्या नियन्त्रणको प्रयास अगाडि बढाएको हो।
शुक्रबारबाट खोप लगाउने र बन्ध्याकरण गर्ने कार्यक्रम सुरुआत गरिएको छ। छाडा कुकुरले घरपालुवा जन्तुमाथि आक्रमण गर्ने, दुर्घटनाको जोखिम बढाउने भएका कारण उपमहानगरले नियन्त्रण अभियान चलाएको हो।
पहिले कुकुर मारेर समस्या समाधान गर्ने चलन भए पनि अहिले पर्यायवरणमा असरपुग्ने भएकाले बन्ध्याकरणलाई उपयुक्त विकल्पको रूपमा अगाडि बढाइएको उपमहानगरपालिकाका पशु चिकित्सक दुर्गा श्रेष्ठले बताए। बन्ध्याकरणपछि कुकुरको सङ्ख्या वृद्धि रोकिने उनको भनाइ छ।
रेविज विरुद्धको खोपले थप जोखिम नियन्त्रण हुने पनि उनले सुनाए। उनका अनुसार सुरुमा एकै ठाउँका कुकुर नियन्त्रणमा लिइने र उपचारपछि सम्बन्धित ठाउँमै लगेर छाडिने छ। तीन दिनसम्म चल्ने कार्यक्रममा दुई सय बढी कुकुरको बन्ध्याकरण र खोप लगाइने उनले बताए।
नियन्त्रणका लिइएका कुकुरलाई अरू रोग भए त्यसको समेत उपचार गरिने भएको छ। बन्ध्याकरण गरेका कुकुरको कानको टुप्पो काटेर छाड्ने गरिएकाले आगामी वर्ष थप उपचारमा सहज हुने उनले बताए।
फागुन २१, २०७८ शनिबार १०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।