अस्ताए क्रिकेटका 'कन्ट्रोभर्सी किङ्ग'

अस्ताए क्रिकेटका 'कन्ट्रोभर्सी किङ्ग'

काठमाडौंः ५२ वर्षको उमेरमा अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन भयो। क्रिकेट फ्र्याटरनिटी स्तब्ध भयो।

विश्व क्रिकेटकै सर्वश्रेष्ठ 'राइट आर्म लेग ब्रेक बलर' वार्नको खातामा ७०८ टेस्ट विकेट र २९३ वान-डे विकेट छन्। सन् २००७ सम्म यो रेकर्ड कसैले तोड्नै सकेन। स्पीनर्सको हकमा सर्वाधिक 'विकेट टेकिङ बलर'मा वार्नभन्दामाथि केवल श्रीलङ्काका मुरलीधरन छन्।

वार्नको सर्वश्रेष्ठताको अर्को दृष्टान्त हो- बल अफ दि सेञ्चुरी। म्यान्चेष्टरको ओल्ड ट्राफोर्ड मैदानमा ४ जुन १९९३ मा अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीच एसेस टेस्टको पहिलो खेलको दोस्रो दिन चलिरहेको थियो। एसेस- अष्ट्रेलिया र इङ्ग्ल्याण्डका लागि विश्वकपजत्तिकै प्रतिष्ठाको लडाइँ हो।

त्यसमा बलिङ गर्ने पालो आयो- वार्नको। अगाडि स्ट्राइकमा थिए- माइक ग्याटिङ। र पहिलो बल फ्याँके वार्नले, जुन यसरी टर्न भयो कि ग्याटिङले अन्दाज गर्नै पाएनन्। ग्याटिङ स्पीन बलिङ खेल्न माहिर थिए तर उनको विकेट ढल्यो। 

यो डेलिभरीलाई क्रिकेट इतिहासमा 'बल अफ दि सेञ्चुरी' भनिन्छ। अर्थात् शताब्दीकै उत्कृष्ट बलिङ।

त्यो खेल अष्ट्रेलियाले १७९ रनले जित्यो। वार्न 'म्यान अफ दि म्याच' भए।

कन्ट्रोभर्सी किङ्ग

वार्नको निधन हृदयघातका कारण भयो। नहोस् पनि किन, उनी चुरोट र रक्सीको अम्मली थिए। उनी कहिलेकहिले त मैदानमै चुरोट पिउँथे। सन् २००७ मा न्युजिल्याण्डमा भइरहेको श्रृङ्खलाका क्रममा उनले चुरोट पिइरहेको तस्बिर दुई युवाले कैद गरेपछि उनीहरूसँग झगडै गर्न पुगेका थिए वार्न।

वार्नको अर्को कमजोर पक्ष थियो- केटी। उनले सन् २००० मा एक ब्रिटिस नर्स डोना राइटलाई अश्लील मेसेज गरेको आरोप लाग्यो। वार्नले उनलाई शारीरिक सम्बन्ध राख्न दबाब दिएको पनि आरोप लाग्यो। यो घटनाले वार्नको करियरमै धक्का पुग्यो। अष्ट्रेलियन टोलीमा उनको उपकप्तानको भूमिका खोसियो।

सन् २००३ मा पनि एञ्जेला नामकी युवतीलाई अश्लील मेसेज गरेको आरोप लाग्यो।

आरोपबिनै पनि उनको कन्ट्रोभर्सी कम छैन। सन् २००६ मा एक म्यागेजिनमा वार्नको तस्बिर छापिएको थियो। त्यसमा उनी दुई मोडलसँग थिए। ती दुवै मोडलको भनाइ थियो कि वार्नले उनीहरूसँग शारीरिक सम्बन्ध राखे। तीमध्ये एक युवतीले त वार्नले आफूहरूलाई पूर्ण सन्तुष्टि दिएको पनि बताइन्।

यो त उनी प्राइम टाइममा रहेको बेला थियो। खेल्न छोडिसक्दा पनि उनको सेक्स स्क्याण्डलले शान्ति पाएन। जनवरी २०१५ मा एक ४३ वर्षीया महिलाले पनि वार्न र आफूबीच शारीरिक सम्बन्ध भएको खुलासा गरिन्।

मैदानमा विकेट लिएको लिएकै, मदानबाहिर कन्ट्रोभर्सीमा आएको आएकै। वार्न कहिल्यै चुपचाप रहेनन्। कहिल्यै चर्चाभन्दा पर पुगेनन्।

अनुशासनहीनता, लागूऔषध, सेक्स स्क्याण्डल जस्ता थुप्रै कन्ट्रोभर्सीमा उनको नाम मुछिएको छ। लागूऔषधको लागि त उनलाई एक वर्ष क्रिकेटमा प्रतिबन्ध पनि लगाइएको थियो।

फागुन २१, २०७८ शनिबार ०९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।