डा. बस्नेतले उकेराकर्मीलाई दिएको धम्कीप्रति पत्रकार महासंघ काठमाडौंको भर्त्सना

डा. बस्नेतले उकेराकर्मीलाई दिएको धम्कीप्रति पत्रकार महासंघ काठमाडौंको भर्त्सना

काठमाडौं : कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले उकेराकर्मी उपेन्द्र खड्कालाई धम्क्याएकोप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले भर्त्सना गरेको छ। 

महासंघ काठमाडौं शाखाले बिहीबार (१९ गते) विज्ञप्ति जारी गर्दै  भनेको छ, ‘प्रकाशित समाचारका विषयमा असन्तुष्टि रहे कानुनी उपचार खोज्ने प्रशस्त आधार र बाटो हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य हो।’

प्रकाशित समाचार तथा समाचारको लिंक सामाजिक सञ्जालमा सेयर गरेको भन्दै उकेरा डटकम अनलाइनमा कार्यरत पत्रकार उपेन्द्र खड्कालाई धम्क्याएको घटनाप्रति ध्यानाकर्षण भएको महासंघ काठमाडौं शाखाले जनाएको छ। 

महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पत्रकारको सुरक्षा र स्वतन्त्रतामा गम्भीर बन्न र निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं।’

फागुन २०, २०७८ शुक्रबार २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।