अख्तियार पुगे उखु किसान, लुम्बिनीका कांग्रेस संसदीय दलका नेता कनोडिया विरुद्ध उजुरी

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महालक्ष्मी सुगर मिल्स विरुद्ध उजुरी परेको छ। महालक्ष्मी सुगर मिल्सको सञ्चालक लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडिया हुन्। शुक्रवार उनले उखु किसानलाई ठगी गरेको भन्दै उजुरी परेको हो।
सर्लाहीका उखु किसानले सरकारी संयन्त्रलाई प्रभावमा पारी किसानलाई दिनुपर्ने सहुलियत आफ्नो नाममा पारेको र सरकारले तोके भन्दा कम मूल्य उखु किसानलाई दिएको भन्दै उजुरी दिएका हुन्।
२० प्रतिशत ठगी
उजुरीमा किसानले श्रम, पसिना, ऋणसमेत लिई रकम लगानी गरी उत्पादन गरेको उखु मिल तथा उद्योगलाई चिनी उत्पादन गर्न उपलब्ध गराउँदै आएकामा उनीहरूले २० प्रतिशतसम्म ठगी गरेको उजुरीमा दाबी गरिएको छ।
'किसानको उखुबाट उद्योगले चिनी उत्पादन गरी व्यापार गरी पर्याप्त आम्दानीमा उद्योगले उखुको भुक्तानी नगर्ने, उखुलाई कम जोखेर क्षति पुर्याउने गरेको, जुना( उखु बाँध्ने पात पराल) को नाममा एक प्रतिशत उखुको तौल घटाउनु पर्नेमा ५ प्रतिशत देखि २० प्रतिसतसम्म घटाई किसानको श्रम तथा उत्पादनमा गम्भीर असर परेको, निवेदनमा उल्लेख छ।
सरकारले उपलब्ध गराई रहेको अनुदानको सरकारी रकम किसानलाई उपलब्ध नगराई किसानको श्रमको चरम शोषण गरेर सरकारी अनुदानको रकममा भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ।
प्रति क्विन्टल ३६ रुपैयाँ ठगी
महालक्ष्मी सुगर प्राली बगदह सर्लाहीमा पुर्जी नम्बर ९०६०९८,९७११०७ को उखु मिललाई दिँदा चिनी मिलले सरकारले तोकेको प्रति क्विन्टल मूल्य ४७१-२८ दिनु पर्नेमा ४३५ रुपैंयाको दरले भुक्तानी गरेर प्रति क्विन्टल रु. ३६ रुपैंया २८ पैसा ठगी भएको उजुरीमा उल्लेख छ।
उक्त आर्थिक वर्षमा सरकारले किसानलाई दिन मिललाई प्रति क्विन्टल ६५ रुपैंया ५६ पैसा उपलब्ध गराएकोमा सो सरकारी रकममा पनि हिनामिना गरेर किसानलाई नदिई भ्रष्ट्राचार गरेको उनीहरूको दाबी छ।
गरी जुना (उखु बाँध्ने पात पराल ) को प्रति क्विन्टल १ % मात्र कट्टा गरी किसानलाई भुक्तानी दिनु पर्नेमा ५% –२०% सम्म जुनाको रकम कट्टा गरी किसानलाई मार्कामा पारेको प्रतिवेदनमा उल्लेख छ।
पुर्जी नम्बर ९०६०९८ मा सन् २०१९ मार्च १४ मा राम स्वार्थ रायले मिललाई उपलब्ध गराएको उखु र ट्र्याक्टरको तौल १४१.८० क्विन्टल रहेको र ट्र्याक्टरको तौल ३८.४० क्विन्टल रहेको तथा नेट उखु तौल १०३.४० क्विन्टल रहेको थियो।
नेट उखु तौल १०३.४० क्विन्टलको प्रति क्विन्टल ४७१ रुपैंया २८ को दरले भुक्तानी पाउनु पर्नेमा नेट पुर्जीमा नै ४३५ रुपैंया प्रति क्विन्टल उल्लेख रहेको छ। जुनावापत १% काट्नु पर्नेमा ५.१५% कट्टा गरी अनुदानको रकम समेत नदिई किसानलाई शोषण गरी सरकारी नीति नियम विपरीत किसानको उखुको मूल्य नदिएको जाहेरीमा उल्लेख छ।
प्रत्येक वर्ष ठग्ने कनोडिया
सरकारले २०७५-२०७६ को लागि उखुको मूल्यप्रति क्विन्टल ४७१ रुपैंया २८ पैसा रहेकोमा सरकारले ६५ रुपैंया ५६ पैसा अनुदान दिने निर्णय गरी अनुदान दिएपछि किसानले प्रति क्विन्टल उखु मूल्य र अनुदान समेतको ५३६ रुपैंया ८४ पैसा पाउनु पर्ने हो।
तर महालक्ष्मी सुगर मिलले किसानलाई प्रति क्विन्टल ५ सय रुपैंया मात्र दिएको उजुरीमा उल्लेख छ।
मिलले प्रति क्विन्टल ३६ रुपैंया ८४ पैसा भ्रष्ट्राचार गरेको उनीहरूको दाबी छ। २०७१-२०७२ कालागि किसानलाई उपलब्ध गराउन महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिल समेतलाई प्रति क्विन्टल २५ रुपैंयाको दरले उपलब्ध गराएको अनुदानको रकम किसानलाई उपलब्ध नगराई भ्रष्टाचार गरेको र सरकारको नीति निर्णय विपरीत महालक्ष्मी सुगर मिल र नेपाल सरकारको पदाधिकारी समेतले दूषित तवरले जानाजान २०७५-२०७६ मा सरकारले तोकेको उखुको मूल्य प्रति क्विन्टल ४७१ रुपैंया २८ पैसामा ४३५ रुपैंया मात्र दिएर३६ रुपैंया २८ पैसा नदिएको उल्लेख छ।
फागुन २०, २०७८ शुक्रबार २०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।