एमसिसीको कारणले सांगठनिक काम प्रभावित भएको भन्दै माओवादी बैठक स्थगित

काठमाडौं : सांगठनिक कामहरूको तयारी नपुगेको भन्दै नेकपा माओवादी केन्द्रको बैठक पर्सि आइतबारसम्म स्थगित भएको छ। आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए।
दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरियो।
'पदाधिकारी चयन लगायत सांगठनिक कामहरुको तयारी नपुगेले बैठक स्थगित गरेका हौं,' माओवादीका केन्द्रीय सदस्य हितबहादुर तामाङले भने। एमसिसीको विषयमा पार्टीभित्र मतभेद हुँदा पार्टीका कामहरू प्रभावित भएको छ।
'एमसिसीको कारणले पार्टीको सांगठनिक काम प्रभावित भएको छ। तीन दिन त दलहरू र एमसिसीको समीक्षा गर्दै समय गयो,' तामाङले भने।
माओवादीको पोलिटब्युरो, स्थायी समिति गठन हुन सकेको छैन भने पदाधिकारी र केन्द्रीय समितिले पनि पूर्णता पाएको छैन। नेतृत्वको सहमतिले एमसिसी संसदबाट पास भएकोमा नेताहरूको असन्तुष्टि छ।
फागुन २०, २०७८ शुक्रबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।