अनुसन्धान नै प्रभाव पार्ने गरी पलका समर्थकले कानुनको धज्जी उडाउँदा प्रहरी रमिते

अनुसन्धान नै प्रभाव पार्ने गरी पलका समर्थकले कानुनको धज्जी उडाउँदा प्रहरी रमिते

तनहुँ : नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा अभिनेता पल शाह (पूर्ण विक्रम) पक्राउ परेसँगै उनका समर्थक र युट्युबरबाट आक्रान्त छ, तनहुँको दमौली।

घटनाको अनुसन्धान नै प्रभावित हुने गरी पलका समर्थक प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले जिल्ला प्रहरी कार्यालय तनहुँ अगाडि दिनहुँजसो नाराबाजी गर्दै पल निर्दोष रहेको सन्देश दिन खोजिरहेका छन्।

काठमाडौंबाट भेट्न आएका केही कलाकार र आफूलाई अभियन्ता बताउनेहरुले भीड जम्मा गरेर पललाई निर्दोष साबित गर्न अनुसन्धानमा खटिएका प्रहरीसामु शक्ति प्रदर्शन गरिरहेका छन्।

बलात्कार जस्तो जघन्य अपराधमा पीडितले शान्ति सुरक्षाका लागि खटिएका जुनसुकै प्रहरी कार्यालयमा उजुरी दिन सक्छन्। पीडित परिवार न्याय खोज्न जहाँ सुरक्षित र न्याय पाउने ठान्छ, त्यहाँ जान सक्ने व्यवस्था भए पनि कास्की प्रहरीले उजुरी गर्न तनहुँ जान सल्लाह दिएकाले पीडित किशोरीको परिवार अलमलमा पर्यो।

कानुनत: अनुसन्धानको चरणमा मुद्दालाई प्रभावित पार्ने गरी कुनै किसिमको समाचार सामग्री सम्प्रेषण गर्न नपाइने भए पनि युट्युबरहरू आफैं अदालत खडा गरिरहेका छन्। 

दूरदराजको गाउँबाट करिअरको खोजीमा कलिलो उमेरमा राजधानीमा रहँदा विभिन्न प्रलोभनमा बलात्कृत हुन पुगेकी नाबालिग गायिकाको आलो घाउमा युट्युबर र अभियन्ता भनिनेहरुले नुनचुक लगाउने काम गरिरहेका छन्। उनीहरु आफैं न्यायाधीश बनेर फैसला सुनाइरहेका छन्।

विजय पुन, भोजराज थापा, पुण्य गौतम लगायतका युट्युबरले पल निर्दोष भएको अफवाह फैलाइरहेका छन्। पीडितको गोपनीयता र संवेदनाको ख्याल राखिएको छैन।

पल पक्राउ परेपछि युट्युब च्यानल, सामाजिक सञ्जाल लगायतका माध्यममा पीडितमाथि नै लाञ्छना लगाउँदै आरोपित निर्दोष रहेको भन्दै सामग्री सम्प्रेषण भइरहेका छन्। 

कानुनमा १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्पर्क भए पनि बलात्कार ठहरिने उल्लेख भए पनि अनुसन्धान प्रक्रियालाई नै प्रभावित तुल्याउने गरी अहिले अभियान्ता, युट्युबर र सिने कलाकारहरू नै लागेका छन्।

जिल्ला प्रहरी कार्यालय दमौली अगाडि भीड जम्मा गरेर युट्युबरहरूले मेला, महोत्सवको झल्को दिँदा समेत प्रहरी रमिते बनेर बसेको छ। कानुनको धज्जी उडाउँदै अनुसन्धानमा प्रभाव पार्ने उद्देश्यले भीड जम्मा पारेर चुनौती दिइरहँदा समेत प्रहरीले रोक्नका लागि आवश्यक कदम चालेको दिखँदैन।

बाहिर भइरहेको नारा-जुलुस र भीडका कारण आरोपित पल विरुद्धको अनुसन्धान प्रभावित नहुने जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्का बताउँछन्। 

अनुसन्धानलाई प्रभाव पार्ने गरी युट्युबरहरुले हिरासतमा रहेका पललाई अझै पनि सेलिब्रिटी बनाएर क्षण-क्षणका मिथ्या खबर दिइरहेको देख्न सकिन्छ। उनीहरुको हर्कत हेर्दा निष्पक्ष अनुसन्धानमा आशंका जन्माएको छ।

पललाई भेट्न आउने कथित सामाजिक अभियन्तादेखि सेलिब्रिटीको ताँती देखिएको छ दमौलीमा। 'पललाई थुन्न पाइँदैन, उनी निर्दोष छन्', ‘जस्टिस फर पल’, ‘मन मिल्दा चमत्कार, नमिल्दा बलात्कार,’ ‘आफूलाई सम्हाल्न नसक्ने, अरुलाई दोष दिने ?’ जस्ता नारा लेखिएका पम्प्लेट बोकैर नाराबाजी गर्नेहरुको तमासा दमौलीको सकडमा छरपष्टै देख्न सकिन्छ। यस्ता अमानवीय क्रियाकलापले गम्भीर अभियोग लागेका व्यक्तिमाथिको अनुसन्धान नै बिथोलिने पो हो कि भन्ने चिन्तामा पीडित पक्षमा देखिन्छ। 

अभिनेता पल शाह विरुद्ध जाहेरी दर्ता भएपछि कानुनले बर्जित गरेका गतिविधिहरूले पीडितलाई अझै पीडा दिने काम भइरहेको कास्की जिल्ला अदातल बार एसोसिएसनका अध्यक्ष नारायणप्रसाद शर्माले बताए। उनले भने, ‘कानुनी राज्यमा जाहेरी दर्ता भइसकेपछि अनुसन्धानलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइँदैन। यदि कोही-कसैलै अनुसन्धानलाई प्रभाव पार्ने कार्य गर्छ भने सरकारले कानुनी कारबाही गर्नसक्छ।'

अहिले पलका समर्थकले प्रहरी कार्यालय अगाडि नाराबाजी सहित शक्ति प्रदर्शन गर्दै नाबालिकाकै दोष भएको भन्दै खुल्लम-खुला लान्छना लगाइरहेका छन्। कानुनत: यस्ता दोषीलाइ एक वर्षसम्म जेल सजाय र १० हजार रूपैयाँ जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

जाहेरी दर्ता भएपछि आरोपितलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि अवस्थामा प्रभावित पार्ने उद्देश्यले भीड जम्मा गर्नेलाई प्रहरीले तत्कालै पक्राउ गरेर कानुनी कारबाही गर्नसक्ने उनले बताए। 

'आरोपित व्यक्ति दोषी छन् वा निर्दोष भन्ने कुरा अनुसन्धानले देखाउने हो, अध्यक्ष शर्माले भने, 'प्रहरीले जुटाएका प्रमाण र अदालतले आवश्यक ठानेका विभिन्न प्रमाणका आधारमा प्रमाणित हुने भएकाले अनुसन्धानलाई बाधा पुग्ने कुनै पनि कार्य गर्न पाइँदैन। यस्तो भएको अवस्थामा सरकारले कानुनी कारबाही गर्नुपर्छ।’

अध्यक्ष शर्माले अभिनेता पलका विषयमा प्रविधिको प्रयोग गरेर प्रचारबाजी हुनुले पीडितलाई थप पीडित बनाउने काम गरेको बताए। 

प्रहरीको आलटालले न्यायमा ढिलाइ 
नाबालिग गायिका पल विरुद्ध उजुरी गर्न करिब एक महिना अगाडि जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेकी थिइन्। तर प्रहरीले अन्तिम घटना तनहुँमा भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा गएर उजुरी गर्न भन्दै फिर्ता पठाएको थियो। 

बलात्कार जस्तो जघन्य अपराधमा पीडितले शान्ति सुरक्षाका लागि खटिएका जुनसुकै प्रहरी कार्यालयमा उजुरी दिन सक्छन्। पीडित परिवार न्याय खोज्न जहाँ सुरक्षित र न्याय पाउने ठान्छ, त्यहाँ जान सक्ने व्यवस्था भए पनि कास्की प्रहरीले उजुरी गर्न तनहुँ जान सल्लाह दिएकाले पीडित किशोरीको परिवार अलमलमा पर्यो। कास्की प्रहरीले उजुरी नलिँदा पीडित परिवार एक महिनासम्म प्रहरीसमक्ष जान सकेनन्। बलात्कार जस्तो जघन्य अपराधमा पीडकले थप पीडा दिन र बार्गेनिङ गर्ने समय पायो। कास्की प्रहरीले तनहुँ पठाएका पीडितका बारेमा सोध खोजसमेत गरेन।

विभिन्न माध्यमबाट पीडितलाई झनै पीडा दिने खालका गतिविधि पीडकका तर्फबाट भयो। आरोपित पलले विभिन्न अडिओ सार्वजनिक गरे। सामाजिक सञ्जालमा पीडितलाई झनै पीडा दिने खालका गतिविधि बढाए।

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा १७ वर्षकी नाबालिगमाथि यौन सम्पर्क भएको र गर्भवती नभएकाले विवाहका लागि स्वीकार गर्न आवश्यक नभएकोसम्म भन्न भ्याए। प्रेममा यस्तो हुने तर्क दिए।

नाबालिग बलात्कारमा यस्तो कानुनी कारबाही 
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका नाबालिगलाई सहमति, प्रेम, विवाह लगायत कुनै पनि बहानामा राखिएको यौन सम्पर्क बलात्कार ठहरिने उल्लेख गरेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले यसरी बलात्कार गर्नेलाई १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ। तर कानुनले नै बलात्कार परिभाषित गरेको घटना सामाजिक सञ्जालमा भाइरल भइरहँदा पनि सरकारको ध्यान गएको छैन।

कानुनले बलात्कार ठानेको घटनाका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा चर्चा चलिनै रह्यो। कानुन विपरीत पीडितको नाम, थर, ठेगाना र फोटो समेत सार्वजनिक गरिए। बलात्कार जस्तो जघन्य अपराधका विषयमा फोन रेकर्ड सार्वजनिकदेखि पक्ष-विपक्षमा सञ्जाल तातिरहँदा प्रहरीले ध्यान दिएको देखिएन। 

पीडा दिनेलाई यस्तो छ कानुनी व्यवस्था
कानुले अनुसन्धान र अदालतमा विचाराधीन रहेको मुद्दाका बारेमा कुनै पनि माध्यमबाट पक्ष-विपक्षमा सार्वजनिक रुपमा धारणा बनाउन नपाइने उल्लेख गरे पनि नाबालिग गायिकाका बारेमा नाम, ठेगानासँगै तस्बिर समेत सार्वजनिक गर्दा समेत प्रहरीले कारबाहीमा चासो देखाएको छैन।

अहिले पीडितको मात्रै नभई, अदालतकै मानहानि भइरहेको छ। सर्वोच्च अदालतको न्याय प्रशासन सम्बन्धी ऐन २०७३ को दफा १७ को उपदफा १ मा आफ्नो र आफू मताहतका अदालतको न्याय सम्पादनमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेका अदालतको अवहेलनामा कारबाही चलाउन सकिने उल्लेख छ।

अहिले पलका समर्थकले प्रहरी कार्यालय अगाडि नाराबाजी सहित शक्ति प्रदर्शन गर्दै नाबालिकाकै दोष भएको भन्दै खुल्लम-खुला लान्छना लगाइरहेका छन्। कानुनत: यस्ता दोषीलाइ एक वर्षसम्म जेल सजाय र १० हजार रूपैयाँ जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

त्यस्तै करणीसम्बन्धी कसुर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धम्की दिई कुनै किसिमको उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मन्जुर गराउन वा कसुर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारका सदस्यबीच मेलमिलाप जस्ता कार्य गर्न लागि दबाब दिनेलाई तीन वर्षसम्म कैद र ३० हजार जरिवाना हुने व्यवस्था अध्यादेशमार्फत गरिएको छ।

फागुन २०, २०७८ शुक्रबार १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।