चल चल रे खाटमण्डु... !
 
                    
                    
                    
                    परार साल शहरमा कोरोना महामारीको खलबल थियो। पोहोर साल पनि कोरोना महामारीको हलचल थियो। महामारीको बेला, शिवरात्रि कहिले आयो? मानिसले थाहै पाएनन्।
पहिले-पहिले शिवरात्रि र प्रजातन्त्र दिवस सँगसँगै जस्तो पर्दथे। अहिले पनि सँगसँगै पर्नुपर्ने हो। तर परेन। यो वर्ष पनि त्यस्तै भयो। थाहै भएन शिवरात्रि कहिले आयो र कहिले गयो!
पहिले शिवरात्रि ‘संस्कृति’ हुन्थ्यो, एउटा उपल्लो स्तरको उत्सव। मानिसहरु पात्रो हेरेर शिवरात्रिको घडी-पला थाहा पाउँथे, तिथि घटबढको हिसाब लगाउँथे।
शहरमा शिवरात्रिको मौसम सुरु भएपछि गौशाला चोकबाट पशुपति मन्दिर जाने मुल सडकमा सिन्दूर-पोते र घर-घरायसी सर-सामानको बजार लाग्ने गर्दथ्यो। शिवरात्रि आएको हल्ला हुन्थ्यो। शहरका मारवाडी साहुजीहरुको चहल-पहल बढथ्यो। स्वयंसेवकहरुको एक डफ्फा देउपाटनको भुवनेश्वरी मन्दिर अगाडि स्टल स्थापना गर्न जुट्ने गर्दथ्यो।
मौसम हेरेर अनुमान लगाउन सकिन्थ्यो- मधेसी यात्रुहरु कहिलेदेखि आउँछन्? नागा बाबाहरु कहिलेदेखि? थापाथलीमा बाबाजीहरुको बिदाइ कहिले हुन्छ? निकै चिसो हुन्थ्यो शिवरात्रिको मौसम।
शिवरात्रि उत्सवका बेला उपत्यकामा पानी पर्थ्यो। अब त न मौसमको ठेगान छ, न मानिसको। धर्म छ, आस्था छैन। धर्म ‘सिस्टम’ बनेको छ। पशुपतिनाथमा चढाइएको सुनको जलहरीबाट कति किलो सुन हरायो? सामाजिक सञ्जालमा सूचनाहरु छ्यापछ्याप्ती पाइन्छन्।
उतिबेलाका मानिसहरु शिवरात्रि घटनाक्रमको हिसाब-किताब राख्थे। मोरु सस्तो थियो। भारु महँगो। इन्द्रचोकका सराफीहरुले भारु-नेरुको कारोबार गर्थे। बैंक दस बजे खुल्थ्यो। मारवाडी सेवा समितिले शिवरात्रिको महा उत्सव मनाउन आएका यात्रुहरुको सेवा गर्दथ्यो। निःशुल्क भण्डारा खुवाउँथ्यो। पानी पिलाउँथ्यो।
गुमसुदाको खोजी गरिदिन्थ्यो- जिल्ला गोरखपुर, देवघर के रहने वाले ज्योतिप्रसाद हलुवाईका बेटा रुद्रप्रसाद हलुवाई आप जहाँ कहीं भी हो मारवाडी सेवा समितिकी काउण्टर में आयें। आपका पिताजी रो रहे हैं।
चारैतिर लगाएको लाउड स्पिकरमा बोलिएका यी शब्दहरुले बाबु-छोराको मिलन गराउँथ्यो। माइक लगाएर बोलेको सूचना सुनेपछि रुद्रप्रसादले आफ्नो बाबुको बिलौना नसुन्ने कुरै थिएन।
कान्तिपुरमा मात्रै होइन, नेपालमा शिवरात्रि ठूलो मेला हुने गर्थ्यो, समानान्तर सांस्कृतिक मेला। भारतमा पनि शिवरात्रि ब्यापक मनाइन्थ्यो। अहिले त नेपालमा यो सामान्य जात्रा भएको छ।
शिवरात्रिको ऐतिहासिक महत्वको वर्णन गरेर शिवभक्त र जिज्ञासुहरुलाई आकर्षित गर्ने कुनै कार्यक्रमको संयोजन गर्न सकेको छैन पशुपति विकास कोषले। कोषको कीर्तिको हल्ला चलेको छ। कीर्ति भने केही छैन।
पर्यावरण संकटको यो समयमा कोषले पशुपतिनाथको बगैंचा भनेर चिनिएको भण्डारखालको मात्रै संरक्षण गरिदिए ठूलो योगदान हुन्थ्यो। कोषमा गफाडी र गँजडीहरुलाई भर्ती गरेको छ नेपाल सरकारले।
शिवरात्रि यसरी खुसुक्क, कसैले थाहै नपाउने गरी, कहिल्यै आउँदैनथ्यो। शिवरात्रि आउन साता बाँकी छँदै बत्तीसपुतली र चाबेलदेखि पशुपति मन्दिर वरिपरिका देउपाटन र बनकालीका बस्तीहरुमा चहल-पहल सुरु हुन्थ्यो।
होटल थिएनन्। यात्रुहरु स्थानीय बासिन्दाको घरमा कोठा भाडामा लिएर बस्थे। एक रातको तीन रुपैयाँदेखि पाँच रुपैयाँसम्म। स्थानीय बासिन्दा कसैलाई थाहै हुँदैनथ्यो कोठाको मूल्य। अलि जिउडाल परेको, रातो-पिरो मानिस भए पाँच रुपैयाँ। नभए दुई रुपैयाँ।
कुनै वर्ष कान्तिपुरवासीले कहिल्यै नदेखेको घटना हुन्थे शिवरात्रिमा। एक वर्ष कलकत्ताबाट आएका एक परिवारका सदस्यले सयपत्री बस्नेतलाई भगाएर कलकत्ता पुर्याए। निकै पछि, सयपत्री दिदी कान्तिपुर आइन्। उनी खुसी थिइन। भन्थिन्, ‘कलकत्ता भागेर मैले राम्रो गरें। यहाँ थच्चिएको भए जीवन त्यत्तिकै सकिन्थ्यो।’
भुराहरुले के बुझून् सयपत्री दिदीको कुरा। दिदी केटाहरुको फुटेर रगतपच्छे भएको गालामा बोरोलिन दलिदिन्थिन्। केटीहरुलाई पोण्डस क्रिम र लिपिस्टिक बाँड्थिन्।
शिवरात्रिका केटाकेटीहरुका लागि निकै रमाइलो र मिठो हुन्थ्यो जोगी, बाबाजीहरुको भण्डारा। सयपत्री दिदी पनि भण्डारा लगाउँथिन् कलकत्ताको मिठाइको। दिदी बेला-बेलामा गीत गाउँथिन्- अँखिया मिलाके, जिया भरमाके, चले नहीं जाना...।
उनले गाएको गीत केटाहरु बुझ्दैनथे। उनीहरु बनकालीको चौरमा सरकारले देखाएको सिनेमा हेरेर रमाउँथे। कान्तिपुरमा सिनेमाघरको कमी थिएन। प्रभा, मुनलाइट, विश्वज्योति, जयनेपाल, अशोक...।
यो त्यो समयको कुरा हो जब कान्तिपुर शहरको आकार यति विशाल थिएन। शहरमा रिङरोड थिएन। पशुपति मन्दिरसम्मका सडक अलकत्राले टालिएका थिएनन्। 
कान्तिपुरलाई घेरेर रिङरोड बन्न थालेपछि शिवरात्रिको रौनक बदलियो।
भगवान पशुपतिनाथको नाममा गाँजा-भाङको प्रयोग भएसम्म त राम्रै थियो। तर शहरको विकास हुन थालेपछि त माता गुह्येश्वरीको जल पशुपतिनाथको नाममा पनि चढाउन थाले केटाहरुले।
मेलाको शैली बदलियो। चिनियाँहरुले भर्खर बनाएको चिल्लो रिङरोडमा भारतीय नम्बर प्लेटका मोटर चल्न थाले- चल चल रे खाटमण्डु, मिलेंगे वहाँ शम्भु।
ती मोटरका डण्डी समातेर बानेश्वरका कतिपय केटाहरु भारततिर पलायन गरे। शिवरात्रि मनाउन सबभन्दा पहिले आएका मोटरवालहरुले नेप्टी, गौरी, भगवती, नैनकला र सुभद्रालाई भारत लिएर गए। उनीहरुको उतै विहे भयो। उतै छोराछोरी पाए। उतै हुर्काए। नेप्टी र नैनकला पन्ध्र वर्षपछि माइत आए। अलल्य मोटाएका नेप्टी र नैनकला माइतमा धेरै दिन बसेनन्।
यो पटक पनि शिवरात्रि मनाइयो। भक्तजनहरुको भीड कम थिएन। तर छिमेकबाट आएका भक्तजनहरु कमै थिए। कमै के भन्नु, नगण्य नै थिए। हरेक मानिस आफ्नै मोबाइलसँग खेलिरहेको थियो। भाग्ने प्रेमिका र भगाउने प्रेमीको कुनै कमी थिएन।
शिवरात्रि त फेरि पनि शिवरात्रि नै थियो। महादेवको नाममा बजारमा सैकडौं भजनहरु ब्याप्त थिए। विस्तारै एउटा विशाल शिव-संस्कृति सामान्य भोज र भण्डारामा खुम्चिँदै थियो। मानिसको ओठमा मन्त्र र भजन त थियो। तर ऊ हातले पेट र कम्मरमुनिको लाज हुने क्षेत्र सुम्सुम्याइरहेको थियो। रेकर्ड बज्दै थियो- चल चल रे खाटमण्डु, मिलेंगे वहाँ शम्भु!
यो पटक शिवरात्रिको नाममा खासै केही देख्न पाइएन। पर्यटकहरु गौशाला चोकमा केन्द्रित थिए। चिनियाँ ब्ल्यांकेट र ज्याकेटको व्यापार निकै आकर्षक थियो। मोबाइल पसलमा ‘एमआई’ फोनको मोलमोलाइ गर्दै थिए ग्राहकहरु। ती पसलहरुको भित्तामा झुण्ड्याइएका टेलिभिजनको स्क्रिनमा शिव ताण्डब स्तोत्रको लयमा मुन्नीहरु कम्मर मर्काउँदै थिए, 'मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए।'
मेला निखारमा थियो। शिवरात्रिको मौलिक स्वरुप पखालिँदै थियो। अचम्म कि, वर्षको एक पटक गाँजा तानेर पशुपतिनाथलाई रिझाउने गँजडीहरु मन्दिर परिसरमा कतै देखिएनन्। कान्तिपुरको कोलाहलका बीचमा शिव शान्त थिए।
गाथाहरू
फागुन २०, २०७८ शुक्रबार १३:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    