पल शाह प्रकरणमा मानव अधिकार आयोग: आरोपित र पीडितको मर्यादामा आँचपुग्ने कार्य नगर्नू

पल शाह प्रकरणमा मानव अधिकार आयोग: आरोपित र पीडितको मर्यादामा आँचपुग्ने कार्य नगर्नू

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले नाबालिग बलात्कारको आरोपमा तनहुँ प्रहरीको न्यायिक हिरासतमा रहेका कलाकार पल शाह प्रकरणमा मुख खोलेको छ। आयोगले प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

यस्तै आयोगले यस घटनाका बारेमा विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको पनि बताएको छ।

गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने बताउँदै आयोगले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्ने र अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने कार्य नगर्न आग्रह गरेको छ। 

पक्ष र विपक्षमा हुने प्रचारबाजी तथा व्यक्त गरिने सार्वजनिक अभिव्यक्तिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्याय सम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकार समेत प्रभावित भएको पनि आयोगले बताएको छ। 

आयोगका सहायक प्रवक्ता लोकनाथ बाँस्तोलाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ- 'गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्नेगरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, यस सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमतिविना भिडियोहरू रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरू सार्वजनिक नगर्न, अतिप्रचारका कारण प्रमाणहरू नष्ट हुनेतर्फ विचार पुर्याउन, आफूलाई प्राप्त प्रमाणहरू सार्वजनिक गर्नुको सट्टा अनुसन्धान अधिकारीहरूलाई उपलब्ध गराउन, कसैले पनि पक्ष र विपक्षमा अभिव्यक्ति नदिन, आफ्ना विचार र अभिव्यक्ति सम्प्रेषण गर्दा अरूको मर्यादामा आँच आउनेतर्फ विचार पुर्याउन, गोपनीयताको हक संकुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।'

फागुन २०, २०७८ शुक्रबार १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।