१५ करोड लगानीमा सुर्खेतमा खुल्यो कर्णालीकै पहिलो ग्याविन वायर उद्योग

सुर्खेतः कर्णाली प्रदेशकै पहिलो ग्याविन वायर उद्योग सुर्खेतको वीरेन्द्रनगर–१२ औद्योगिक क्षेत्रमा सञ्चालनमा ल्याइएको छ। पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याएका हुन्।
१५ करोड लागतमा स्थापना गरिएको उद्योगमा चीनबाट खरिद गरेर ल्याइएको मेसिनले ग्याविन तारजाली उत्पादन गर्ने उद्योगका अध्यक्ष सिद्धिखर रेग्मीले जानकारी दिए।
मेसिनबाट दैनिक नौ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) उत्पादन गर्न सकिने अध्यक्ष रेग्मीले बताए। उनका अनुसार यसअघि ग्याविन तारजाली काठमाडौं, बुटवल, वीरगञ्ज लगायतका ठाउँबाट ल्याउनुपर्ने बाध्यता थियो।
तीन रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले ४० जनालाई रोजगारी दिएको छ। ‘यसअघि ग्याविन तारजाली बाहिरबाट ढुवानी गर्नुपर्ने बाध्यता थियो,’ रेग्मीले भने, ‘सुर्खेतमै उद्योग स्थापना भएपछि ढुवानी खर्च बच्ने र सस्तो दरमा यहीँबाट कर्णालीलाई उपलब्ध गराउने छौं।’
उद्योगले हाल २२ प्रकारका साइजमा तारजाली उत्पादन गर्दै आएको छ। अर्डरअनुसार उद्योगबाट अन्य साइजको पनि उत्पादन गर्न सकिने बताइएको छ।
फागुन २०, २०७८ शुक्रबार १०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।