पाँच जनाको ज्यान लिने बाँकेको नरभक्षी बाघ चितवनमा

पाँच जनाको ज्यान लिने बाँकेको नरभक्षी बाघ चितवनमा
फाइल तस्बिर: बाघलाई नियन्त्रणमा लिँदै निकुञ्जका कर्मचारी

काठमाडौंः बाँकेमा आतंक मच्चाइरहेको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्ज ल्याइएको छ। बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छोडेको हो।

यो बाघले हालसम्म पाँच जनाको ज्यान लिइसकेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हाल यो बाघलाई खोरमा राखिएको छ। उनले भने, “बाँके राष्ट्रिय निकुञ्जमा खोर बन्दै गरेकाले उक्त बाघ अहिले चितवन ल्याइएको हो, यसलाई तत्काल जङ्गलमा छाडिँदैन, पछि अवस्था हेरेर चिडियाखानामा पठाउन सकिन्छ।”

कसरामा राखिएको बाघलाई खानाको रूपमा दिनमा चारदेखि ६ किलोसम्म राँगाको मासु दिइनेछ।

प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार बाघको दैनिक बानी व्यवहारको पनि यो बीचमा अध्ययन गरिनेछ।

बाघले गत माघ २२ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट, र त्यसको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारूलाई आक्रमण गरेर मारेको थियो।

त्यसअघि यही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो। यस्तै फागुन पहिलो साता मात्रै पनि धनबहादुर चलाउनेको यही बाघको आक्रमणबाट ज्यान गएको थियो। वकिल गद्दी र दुर्गा थारू सोही बाघको आक्रमणबाट घाइते भएका थिए।

बाघलाई बुधबार डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको थियो। 

फागुन २०, २०७८ शुक्रबार १०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।