माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट, पदाधिकारी चयन गर्ने तयारी

काठमाडौंः नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। तीन दिनसम्म चल्ने बैठकले पदाधिकारी चयन गर्ने तयारी गरेको छ।
बैठक आज बिहान ११ बजेबाट राष्ट्रिय सभा गृहमा सुरु हुनेछ। समसामयिक राजनीतिक विषय, स्थानीय तह निर्वाचनको तयारी र पदाधिकारी चयनबारे बैठकमा छलफल हुनेछ।
यसअघि गत पुष ११ देखि १८ गतेसम्म जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्रसमक्ष प्रस्तुत गरेका थिए। प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनमा सर्वसम्मतले पारित भएको थियो।
त्यसलगत्तै बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा प्रचण्ड चयन गरे पनि अन्य पदाधिकारी भने चयन गरेको थिएन। आजबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकले बाँकी केन्द्रीय सदस्य, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने तयारी छ।
फागुन २०, २०७८ शुक्रबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।