एमसिसीमा सैन्य गठबन्धन स्वीकार छैन भन्ने घोषणामा पनि दल विभाजित

काठमाडौँ : अमेरिकी सहयोग सम्झौता एमसिसीको कुनै सैन्य गठबन्धन रणनीति अनुसार आएको हो भने त्यो अस्वीकार गर्नेसहितको बुँदा राखेर सरकारले ल्याएको व्याख्यात्मक घोषणामा पनि दल र सांसदहरू विभाजित भए।
एमसिसी सम्झौतामा अस्पष्ट रहेका बुँदाहरूलाई प्रस्ट पार्न सरकारले १२ बुँदे व्याख्यात्मक घोषणा संसद्मा ल्याएको थियो। यस अगाडि एमसिसीको विपक्षमा रहेकाहरू यो व्याख्यात्मक घोषणालाई समेत अस्वीकार गरेका छन्।
सत्ता गठबन्धनमा रहेका दलका सांसदहरू पक्षमा उभिएका छन्। प्रतिपक्षी दलका सांसदहरू निरन्तर नाराबाजीमा छन्। तर उनीहरूको विरोध संसद्को सर्वोच्चतामा छ एमसिसीमा हैन।
यस अगाडिको छलफलमा विपक्षमा उभिएको सरकारलाई समर्थन गर्ने जनमोर्चा नेपाल विपक्षमा उभियो। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि विपक्षमा उभिए।
एमालेमा रहेका सांसद भीम रावलले व्याख्यात्मक घोषणालाई भ्रमात्मक घोषणा भन्दै त्यसको विपक्षमा उभिए। माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले पक्षमा आफ्ना धारणा राखे। नेपाली कांग्रेसका सांसदहरूले पनि पक्षमा आफ्ना धारणा राखेका थिए।
जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले व्याख्यात्मक घोषणाले अस्पष्ट भएका विषयहरू प्रस्ट पार्ने काम गरेको भन्दै सरकारलाई धन्यवाद दिएका थिए।
संसद्मा सरकारले ल्याएको व्याख्यात्मक घोषणाबारे छलफल जारी छ।
फागुन १५, २०७८ आइतबार २०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।