फ्याक्ट चेक गर्नेलाई नै प्रहरीको साइबर क्राइमको धम्की, पत्रकार महासंघको आपत्ति

काठमाडौँ : माई संसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्रामइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ।
विभिन्न माध्यममा प्रकाशित सामाग्रीको तथ्य जाँचमा समेत सक्रिय श्रेष्ठले अमेरिकी सहयोग सम्झौतालाई पारित गर्न सरकारले प्रक्रिया अगाडि बढाए लगत्तै युट्युव र सामाजिक सञ्जालमा राखिएका फेक न्युजबारे तथ्यजाँच सहितको सामाग्री प्रकाशित गरेका थिए।
त्यस्ता सामाग्री प्रकाशित गर्नेहरुलाई कारवाही गर्न प्रहरीको साइबर ब्युरोमा परेको उजुरीमा अफवाह फैलाउनेलाई नियन्त्रणमा लिनुको साटो उल्टो तथ्य जाँच गर्ने श्रेष्ठलाई कार्यालयमा बोलाएर दुर्ब्यवहार भएको थियो।
महासंघले ब्लगमा एमसीसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दा लगाउने धम्की दिएको भन्दै ध्यानाकर्षण गराएको छ।
'प्रहरीलाई सहयोग पुग्ने आशयमा लेखिएको उक्त ब्लगको भित्री कुरो नबुझी ब्युरोका जिम्मेवार अधिकारीबाट पत्रकारलाई स्पष्टीकरणको मौकासमेत नदिई धम्कयाउने कार्य गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो। महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र आगामी दिनमा यस्ता विषयमा गम्भीर भई यस किसिमका घटना नदोहोर्याउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदछ,' महासंघको विज्ञप्तीमा उल्लेख छ।
भएको के हो ? श्रेष्ठले फ्याक्ट चेक गरेको र प्रहरीले गरेको ब्यवहारबारेका २ ब्लग
फागुन १४, २०७८ शनिबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।