दुर्घटनामा वडाध्यक्षको मृत्यु: राजमार्ग अवरुद्ध, कर्णाली प्रदेशमा आवतजावत ठप्प

दुर्घटनामा वडाध्यक्षको मृत्यु: राजमार्ग अवरुद्ध, कर्णाली प्रदेशमा आवतजावत ठप्प

सुर्खेतः मोटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्षको मृत्यु भएपछि स्थानीयले रत्न राजमार्ग अवरुद्ध गरेका छन्। भेरीगंगा नगरपालिका– १ का वडा अध्यक्ष नवराज कार्कीको काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका हुन्।

दोषीलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने, हालसम्मको उपचार खर्च बेहोर्नुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

उनकाअनुसार सुर्खेत–नेपालगञ्ज र छिन्चु जाजरकोट सडकखण्डको सत्तरी, वडा नम्बर ४ तोलीखोलामा पनि सडक अवरुद्ध गराइएको छ। घर्तीले कर्णाली प्रदेशको मुख्य नाका बन्द हुँदा प्रदेशमा भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरू ठप्प भएको बताए।

बिहान नेपालगञ्जका लागि हिँडेका केही सवारी साधन र यात्रुहरू पनि बाटोमै अलपत्र परेका छन्। मृतकका आफन्तहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्।

वडाध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको डीएसपी घर्तीले बताए।

रत्न राजमार्गअन्तर्गत भेरीगंगा नगरपालिका- १२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश-०२-००१ख ०५४६ नम्बरको फोर्स गाडीले वीरेन्द्रनगरबाट छिन्चु जाँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्की घाइते भएका थिए।

फागुन १४, २०७८ शनिबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।