रुसी र युक्रेनी सेना किएभको सडकमा आमनेसामने, जेलेन्स्कीले मानेनन् अमेरिकाको प्रस्ताव

एजेन्सीः रुस र युक्रेनबीच जारी युद्ध उत्कर्षमा पुगेको छ। बीबीसीका अनुसार यतिबेला युक्रेनको राजधानी किएभको मध्यभागमै रुसी सेना पुगेको छ भने राजधानीको सडकमा दुई पक्षबीच युद्ध जारी छ।
युक्रेनी सशस्त्र बलको फेसबुक पेजमा दिइएको जानकारी अनुसार शहरको भासिल्किभ क्षेत्रमा भीषण युद्ध जारी छ। यस्तै शहरको सडकमा 'सक्रिय युद्ध' जारी छ। यसैबीच किएभको स्थानीय सरकारले नागरिकहरूलाई सुरक्षित रहन र झ्याल तथा बार्दलीमा नआउन आग्रह गरेको छ।
यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले एउटा प्रस्ताव राखेको थियो जुन जेलेन्स्कीले ठाडै अस्वीकार गरिदिएका छन्। अमेरिकाले युक्रेनीहरूलाई युद्धग्रस्त क्षेत्रबाट 'इभाक्युएट' अर्थात् सुरक्षित स्थानमा लैजाने प्रस्ताव गरेको थियो।
जेलेन्स्कीले अमेरिकालाई जवाफ दिए- 'लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ। सवारी होइन।'
फागुन १४, २०७८ शनिबार ११:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।