संविधान विरोधी गठबन्धन रोक्नुपर्ने दायित्व भन्दै एमसिसीमा नरम बने प्रचण्ड

संविधान विरोधी गठबन्धन रोक्नुपर्ने दायित्व भन्दै एमसिसीमा नरम बने प्रचण्ड

काठमाडौँ : अमेरिकी सहयोग सम्झौताको विपक्षमा मतदान गर्ने अडान लिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'गठबन्धनको भविष्य' भन्दै नरम सुनिन थालेका छन्।

कुनै हालतमा अहिलेको अवस्थामा एमसिसी पास हुन्न भन्ने लाइनबाट पछि हट्दै उनी ' प्राप्त अधिकार गुम्न सक्ने र अर्को अप्राकृतिक र संविधान विरोधी गठबन्धन बन्न सक्ने' भन्दै एमसिसी पारित गर्ने लाइनतिर हिँडेका छन्।

शनिवार दिलबहादुर रम्तेलको सम्झनामा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी एमसिसी पास गर्ने लाइनमा गएको सङ्केत गरे।

'हामी एमसिसीको विपक्षमा छौँ। तर त्यसैको बहानामा लोकतन्त्र र संविधान जोगाउन बनेको वर्तमान गठबन्धन टुटाउने र संविधान विरोधी गठबन्धन बन्ने जोखिम देखिएको छ,' उनले भने।

एमसिसी टुङ्ग्याउन नेताहरू आफूलाई पर्खेर बसेको भन्दै उनले अहिलेको मुख्य चुनौती प्राप्त अधिकारको रक्षा भएको बताएका थिए।

उनको टोन एमसिसीप्रति नरम सुनिएको थियो। गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले एमसिसी पास गराउने या फेल टुङ्ग्याउन आज तीन बजेसम्मको समय दिएको छ। यदि गठबन्धनको सहयोग नपाए प्रमुख प्रतिपक्षसँग मिलेर सरकार बनाउने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय छन्।

प्रचण्ड नरम देखिनुको एक कारण एमालेसँग बन्न सक्ने गठबन्धन नै हो। माओवादी र एकीकृत समाजवादी आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन कायम राख्न चाहन्छ। तर एमसिसी पास गर्न सहमत नभए कांग्रेस नयाँ समीकरणमा जाने तयारीमा छ।

फागुन १४, २०७८ शनिबार ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।