लमजुङ र मनाङ जोड्ने सडक १५ दिन बन्द हुने

लमजुङ र मनाङ जोड्ने सडक १५ दिन बन्द हुने

काठमाडौंः लमजुङको बेंसीशहर र मनाङको चामे जोड्ने सडक १५ दिन बन्द हुने भएको छ। सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माण गर्न यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने भएको हो।

डुम्रे बेंसीशहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर हरि श्रेष्ठका अनुसार मनाङको नासों गाउँपालिका वडा नं ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो। त्यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो।

पुनः काठेपुल राखेर यातायात सञ्चालनमा गरिए पनि गत कात्तिकमा आएको बाढी पहिरोले नयाँ बनाइएको काठेपुल पनि बगाएको थियो।त्यस यता राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या हुन सक्ने भएकाले कल्भर्ट निर्माण सुरु गर्न लागेको उनको भनाइ छ। 

सडकखण्डको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ।

फागुन १४, २०७८ शनिबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।