एमसिसी पास गर्न बालकोटको बैठकमा एमालेका तीन प्रस्ताव

काठमाडौँ : एमसिसीमा सहयोग खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीको घर बालकोट गए पनि सहमति हुन सकेन।
कांग्रेसले अन्तर्राष्ट्रिय सम्बन्धमै नकारात्मक असर पर्ने भन्दै एमसिसी पास गर्न सहयोग मागेको थियो।
एमालेले प्रधानमन्त्रीसहितको कांग्रेस टिमलाई संसद्मा प्रवेश गर्न सहज बनाउन भन्दै सभामुखको राजीनामा र १४ सांसदमाथि कारवाहीको माग गर्यो। उसले गठबन्धन छाड्नु पर्ने माग समेत राख्दै आएको छ।
बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न सहयोग गर्न आग्रह गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।
‘हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण तयार गर्नुस् त्यसपछि हामी हाम्रो विचार तयार गछौं भन्नुभयो' ओलीको भनाइ उद्धत गर्दै मन्त्री कार्कीले भने। बैठकमा देउवाले लोकतन्त्रका लागि लडेका सहयात्रीहरू मिलेर अघि बढ्नुपर्ने बताएका थिए।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ठोस प्रस्ताव नआएको बताए। ‘उहाँहरूसँग ठोस प्रस्ताव थिएन। आगामी बैठकमा खाका आउँछ कि’ ज्ञवालीले भने, ‘सदनभित्र सभामुखले रेफ्रिको भूमिका निर्वाह गर्नुपर्यो।’
छलफलमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सन्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए। छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र उप–महासचिव प्रदीप ज्ञवाली सहभागी थिए।
फागुन १३, २०७८ शुक्रबार २१:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।