नेपाल आज र सगरमाथा खबर कालोसूचीमा

काठमाडौं : पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलले दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ।
प्रेस काउन्सिलका अनुसार नेपाल आज डट कम र सगरमाथा खबर डट कमलाई कालोसूचीमा राखिएको हो।
२०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध काउन्सिलमा १३२ वटा उजुरी परेका थिए। यस्तै, आठ वटा जनगुनासा दर्ता भएकामा हालसम्म ८१ उजुरी र चार वटा जनगुनासा फछ्र्योट भएका छन्। यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फछ्र्योट भएका छन् । त्यस्तै, ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता सूचीकरण नभएका बेवपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरिएको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार यसबीचमा दुई सञ्चारमाध्यम अवज्ञाकारी सूचीमा परेको हो।
एकपक्षीयरूपमा सामग्री प्रकाशित गरेको, व्यक्तिगत चरित्र हत्या गरेको, पत्रकारिता न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ब्ल्याकमेलिङ गरी आफ्ना माग पूरा नभए बिनाआधार चरित्र हत्या गर्ने गरेको भनी मौखिम एवम् लिखित गुनासासमेत आएको थियो।
काउन्सिलका अनुसार नेपाल आज डट कमले विगत दुई वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटक पटक फोन गरी हैरानी दिने गरेको आरोपसहित महिला पत्रकारबाट परेकासहित विभिन्न छ उजुरी र काउन्सिलको स्वअनुगमनबाट देखिएका आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन तोडमरोड गरेर पुनःसमाचार बनाइ प्रकाशन गरेको पाइएको छ।
उक्त समाचार अनलाइनले गलत र अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवाररूपमा प्रायोजित एवं एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्रहत्या हुने प्रकारको पत्रकारिताको नयूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको काउन्सिलले जनाएको छ ।
फागुन १३, २०७८ शुक्रबार २०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।