भैरव पुरस्कार व्यङ्ग्यकार लुइँटेललाई, ग्वंगलाई वाङ्मय तथा भौकाजीलाई प्रतिभा पुरस्कार 

भैरव पुरस्कार व्यङ्ग्यकार लुइँटेललाई, ग्वंगलाई वाङ्मय तथा भौकाजीलाई प्रतिभा पुरस्कार 

काठमाडौं : नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू शुक्रबार वितरण गरिएको छ।

भैरव पुरस्कार गुठीले राजधानीमा गरेको कार्यक्रममा गुठीका अध्यक्ष समेत रहेका वरिष्ठ साहित्यकार रोचक घिमिरेले २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरेका छन्। यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।

यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो। १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब वर्षेनी प्रदान गरिने गुठीका अध्यक्ष घिमिरेले जानकारी दिए।

त्यस्तै ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरियो। 

कार्यक्रममा पुरस्कृत स्रष्टाहरू ग्वंग, लुइँटेल र भौकाजीको योगदानबारे श्रीओम श्रेष्ठ रोदन, डा. रमेश शुभेच्छुक र दिव्य गिरीले प्रकाश पारेका थिए।

पूर्वमन्त्री तथा प्रदेश सभा सांसद रामेश्वर फुयाल तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले समृद्ध साहित्यले समन्नुत समाज निर्माणमा सहयोग गर्ने भएकाले साहित्यको विकासका लागि मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाए।

सोही अवसरमा ‘सम्झना भैरव स्मृति ग्रन्थ’ को विमोचन गरिएको थियो। विमोचित कृतिको समीक्षा गर्दै वरिष्ठ पत्रकार तथा गुठीका उपाध्यक्ष विजय चालिसेले नेपाली साहित्यको हाँस्यव्यङ्ग्य क्षेत्रमा अर्यालको योगदान अतुलनीय रहेको बताए।

कार्यक्रममा गुठीका सचिव बसन्त रिजालले गुठीका गतिविधिबारे प्रकाश पारे भने गुठीका सदस्यहरू प्रा.डा. दीपक अर्याल, गोपाल बराल, उद्धव रायमाझी लगायतका वक्ताहरूले अर्यालको साहित्यिक योगदानबारे चर्चा गरेका थिए।

यसैबीच गुठीको आजै सम्पन्न साधारण सभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा बसन्त रिजाल र कोषाध्यक्षमा अजीत नेपाल रहेका छन्।

त्यस्तै सदस्यहरूमा बद्री अर्याल, रश्मी शर्मा, गोपाल बराल, प्रा.डा. दीपक अर्याल, उद्धव रायमाझी, गोविन्द घिमिरे ‘वेदमणि’, मेनका पोखरेल, घनश्याम प्रसाईं र निर्मल अर्याल चयन भएका छन्।

फागुन १३, २०७८ शुक्रबार २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।