शेखर समूहले टुङ्ग्यायो १० जिल्लाको उमेद्वार : कतै देउवासँग सहकार्य, कतै सिटौलासँग

शेखर समूहले टुङ्ग्यायो १० जिल्लाको उमेद्वार : कतै देउवासँग सहकार्य, कतै सिटौलासँग

काठमाडौँ : तालिका अनुसार कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन २० भित्र सक्नुपर्ने छ। केन्द्रीय निर्वाचन समितिले निकालेको कार्य तालिकामा ६ जिल्लामा यही फागुन १५ गते अधिवेशन गर्नुपर्ने छ।

सोही जिल्ला अधिवेशनका लागि शेखर कोइराला समूहले १० जिल्लाका लागि जिल्ला सभापतिको उम्मेदवारको टुङ्गो लगाएको छ। शेखर समूहको शुक्रवार बालुवाटार सम्पर्क कार्यालयमा बसेको बैठकले १० जिल्लामा आफ्नो समूहबाट उठ्ने जिल्ला सभापतिको उम्मेदवार फाइनल गरेको हो।

बैठकबाट १० जिल्लामध्ये ८ जिल्लामा आफ्नो एकल उम्मेदवार खडा गर्नेछ भने अछाम र बारामा भने अर्को समूहको उम्मेदवारलाई सहयोग गर्ने भएको छ।

‘बैठकमा हाम्रो समूहका पदाधिकारी, समूहका काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू तथा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, गुरु घिमिरेलगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो,’ बैठकमा सहभागी एक नेताले भने,‘हामीले १० जिल्लाको उम्मेदवार टुङ्गो लगायौँ । बाँकी रहेका ६ जिल्लाको उम्मेदवार पर्सिसम्म टुङ्गो लगाउँछौँ।’

शेखर समूहले सप्तरीमा रामदेव साहलाई जिल्ला सभापति उठाउने निर्णय गरेको छ। यस्तै सिराहामा रामसुन्दर चौधरी सभापतिको उम्मेदवार बन्ने भएका छन्। धनुषामा दिनेश प्रसौला, सर्लाहीमा लक्ष्मण रायलाई सभापतिको उम्मेदवार बनाउने निर्णय शेखर समूहले गरेको छ।

यस्तै, मकवानपुरमा जयराम लामिछाने, बाँकेमा नारायण गौडेल, सिन्धुपाल्चोकमा वंशलाल तामाङ तथा नवलपुर महेन्द्रधोज जिसी सभापतिको उम्मेदवार बनाउने शेखर समूहले निर्णय गरेको छ।

बैठकले अछाममा शेरबहादुर देउवा निकट भरत सवारलाई सहयोग गर्ने निर्णय गरेको छ। यस्तै बारामा सह महामन्त्री उमाकान्त चौधरी निकट मानिने रामानन्द यादवलाई सहयोग गर्ने निर्णय भएको ती नेताले जानकारी दिए।

फागुन १३, २०७८ शुक्रबार १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।