गठबन्धन जोगाउँदै एमसिसी पास गर्ने रणनीति बुन्दै सत्ताधारी, प्रचण्ड बालुवाटारमा

काठमाडौँ : अमेरिकी सहयोग सम्झौता टुङ्ग्याउन दलका नेताहरूबिच छलफलको क्रम चलिरहे पनि निष्कर्ष भने आएको छैन। शुक्रवार सरकारको सहयोगी दल माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबिच छलफल भयो।
यी दुवै नेताबिच छलफल हुनु अगाडि दुवै दलका नेता पार्टीका नेतासँग छलफल गरेका थिए। एमसिसी पास नगरे गठबन्धन नरहने पक्का भएपछि माओवादी केन्द्र र समाजवादी गम्भीर देखिएका थिए।
गठबन्धन कायम राखेर एमसिसी मुद्दा टुङ्ग्याउने मोडमा पुगेका प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरिरहेका छन्। साथमा अर्थमन्त्री जनार्दन शर्मा पनि छन्।
एमसिसी संसद्मा टेबल गर्न छलेका र सैद्धान्तिक बहस गर्न समेत छलेका अर्थमन्त्री शर्मा शुक्रवार बालुवाटार इन्ट्रि गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
एमसीसी सम्झौता अनुमोदन गर्ने देउवाको अडान र विपक्षमा मतदान गर्ने माओवादी केन्द्र, एकीकृत समाजवादीको अडानले पाँच दलिए गठबन्धन विघटनको संघारमा पुगेको थियो।
बिहीबार दुई पटक कांग्रेस र एमालेबिचको छलफलबाट झस्किएका सत्ता साझेदार दुई दल एमसीसी फेल गराउने योजनाबाट पछि हटेपछि शुक्रवार सत्ता गठबन्धनका नेताहरूबिच छलफल भइरहेको छ।
शुक्रवार बिहान बसेको माओवादी केन्द्रको पूर्वस्थायी समिति सदस्यहरूको बैठकले गठबन्धन बचाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो। माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी मध्यमार्गी बाटोबाट पास गराउने उपायको खोजीमा छन्।
फागुन १३, २०७८ शुक्रबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।