पासपोर्टबिना बार नाघेर यात्रु विमानस्थल पुगेको घटनाको छानबिन गर्न समिति

काठमाडौँ : पासपोर्टबिना नै त्रिभुवन विमानस्थल भित्र यात्रु पसेर विमानमा पुगेको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले ९ सदस्यीय छानबिन समिति गठन गरेको छ।
फागुन ९ गते बेलुका विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट बिना नै एक व्यक्ति पुगेका थिए। उनले विमानस्थलको दक्षिणी भागको तार नाघेर धावनमार्गमा प्रवेश गरेको खुलेको थियो।
गृहले जारी गरेको विज्ञप्तिमा 'सो घटना विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको हुँदा घटनाका सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ।
विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्य विभाजन, कमजोरी र सुधारका उपायहरू सम्बन्धमा कार्य आरम्भ गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।
फागुन १३, २०७८ शुक्रबार १४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।