विमानस्थलबाट ३८ हजार मलेसियन रिंगेटसहित एक भारतीय पक्राउ

काठमाडौंः नेपाल प्रहरीले ३८ हजार ९ सय मलेसियन रिंगेटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर भि ४७१८४३६ बाहक ४० वर्षीय आरिस रहेका छन्।
अवैध रूपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको रिंगेटसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
उनी हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका थिए। आरिसलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा लगेजभित्र खैरो रंगको खाममा विभिन्न दरका गरी मलेसियन रिंगेट फेला पारी पक्राउ गरिएको हो।
बरामद मुद्रासहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।
फागुन १३, २०७८ शुक्रबार १३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।