निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाडौंः हिमाल आरोहणमा विश्व कीर्तिमान राख्न सफल आरोही निर्मल पुर्जा (निम्स दाइ) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडविल एम्बासडर फर नेपाल्ज टुरिजम) नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेका हुन्।
बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उनलाई दूत नियुक्त गर्नुका साथै सम्मान समेत गरिएको थियो। त्यसक्रममा मन्त्री आलेले पुर्जालाई पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु आफ्नो कार्यकालको स्मरणीय काममध्येकै एक रहेको उल्लेख गरे।
पुर्जामार्फत नेपालको पर्यटन क्षेत्रको व्यापक प्रचार हुने र कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय फेरि माथि उठ्ने विश्वास रहेको मन्त्री आलेले बताए।
यस्तै पुर्जाले पनि सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै नेपाललाई विश्वसामु चिनाउन आफू सदैव लागिपर्ने बताए। उनले भने, “मलाई सद्भावना दूत नियुक्त गरेर नेपाल सरकारले थप जिम्मेवार बनाएको छ, म नेपाल देश विश्वसामु चिनाउन हरपल लाग्ने छु ।”
पुर्जाले सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर विश्व रेकर्ड कायम गरेका छन्। उनले निर्माण गरेको ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ नामको डकुमेन्ट्री पनि संसारभर चर्चित छ।
फागुन १३, २०७८ शुक्रबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।