बल्झियो नेकपाकालीन १९ पृष्ठको आरोप पत्र

काठमाडौँ : नेकपा नै विघटन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र बनिसके पनि नेकपाकालिन १९ पृष्ठको आरोप पत्र भने अझै जीवित देखिएको छ।
नेकपाका तत्कालीन अध्यक्ष केपी ओलीविरुद्ध नेकपाका तत्कालीन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए।
नेकपा विघटनको एक कारण सो प्रतिवेदन पनि थियो। अदालतमा नेकपाको आधिकारिकताबारे परेको मुद्दाले पूर्ववत् एमाले र माओवादी केन्द्र ब्युँतियो। सँगै १९ पृष्ठको प्रचण्डको प्रतिवेदन पनि औचित्य सकिएको थियो।
अमेरिकी सहयोग सम्झौता एमसिसीले सत्ता गठबन्धन सङ्कटमा परेसँगै अहिले एमालेसँग नेपाली कांग्रेस र माओवादी केन्द्रले छलफल गरिरहेका छन्। कांग्रेस एमसिसी पास गर्ने पक्षमा छ भने माओवादी फेल गराउने पक्षमा छ।
बिहीबार दुवै दलका प्रमुखले एमाले अध्यक्ष ओलीसँग छलफल गरे। कांग्रेससँगको छलफलमा ओलीले सभामुख हटाउने, गठबन्धन टुटाउने र एकीकृत समाजवादीका १४ सांसदलाई कारबाही गर्नुपर्ने सर्त राखेका थिए।
एमसिसीमा सबै कम्युनिस्ट पार्टीको एकै धारणा बनाउँ भन्दै छलफल गर्न आएका प्रचण्डसँग ओलीले सभामुखको राजीनामा, माधव नेपालसहितका समाजवादीका सांसदमाथि कारबाहीसँगै १९ पृष्ठको प्रतिवेदन फिर्ता लिनुपर्ने माग समेत गरेका थिए।
प्रचण्ड सत्ता सहकार्यसम्मको प्रस्ताव लिएर गएका थिए। तर ओलिको अप्ठ्यारो मागका कारण वार्ता सकारात्मक हुन सकेन।माओवादी सभामुखलाई राजीनामा गराउने र एकीकृत समाजवादीका सांसदमाथि कारबाही गराउन सहमत छैन।
बरु कांग्रेस सभामुख हटाउने सर्तमा सहमत हुनसक्छ। तर एकीकृत समाजवादीका सांसदमाथि कारबाहीमा उ पनि सहमत देखिन्न। एमसिसीबारे माओवादी र एकीकृत समाजवादीको निर्णय नबदलिए गठबन्धन स्वतः टुट्ने देखिन्छ। माओवादी सरकारमै रहे पनि माओवादीबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्रीलाई असहयोग गर्न थालिसकेका छन्। यसले पनि एमसिसिका कारण गठबन्धन टुट्ने देखिन्छ।
फागुन १३, २०७८ शुक्रबार ०७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।