युक्रेनमा रहेका नेपालीलाई घरभित्रै सुरक्षित बस्न आग्रह

काठमाडौं : युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न सरकारले आग्रह गरेको छ।
जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूताबासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितमा युक्रेनको हवाई क्षेत्र नागरिक उडानका लागि बन्द रहेकाले घरमै बस्न आग्रह गरेको हो।
हवाई मार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नहुने देखिएकाले संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा सुरक्षित बस्न युक्रेन सरकार र सम्बन्धित कलेज, विश्वविद्यालयद्वारा जारी निर्देशनको पालना गर्न तथा सम्भव भएका सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमीतर्फका बढी सुरक्षित स्थानमा जान राजदूताबासले आग्रह गरेको छ।
त्यस्तै राजदूताबासले परिवार तथा नियोगसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ।
रुसले आज बिहानबाट युक्रेनमा सैन्य कारबाही थालेको छ। यस क्रममा दर्जनौंको मृत्यु भएको छ। राजधानी किभ लगायतका कयौं स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
फागुन १२, २०७८ बिहीबार २०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।