एमसीसी फेल गराउने सर्तमा प्रचण्डबाट ओलीलाई प्रधानमन्त्री अफर !

काठमाडौंः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संसद् भवन नयाँ बानेश्वरमा छलफल जारी छ। छलफलमा दुवै दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।
एमालेका तर्फबाट ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी छन्। माओवादीबाट प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङ सहभागी छन्।
छलफलका क्रममा संसद्मा टेबल भएको एमसीसी फेल गराउने प्रस्ताव प्रचण्डले राखेका छन्। 'जोसँग छलफल गरे पनि हाम्रो अजेण्डा भनेको एमसीसी असफल बनाऔं भन्ने नै हुन्छ', माओवादी नेता गिरिराजमणि पोखरेलले भने।
यता एमालेका एक नेताका अनुसार प्रचण्डले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्। 'उहाँ (प्रचण्ड)बाट प्रस्ताव आएको छ। हामी हतारिने पक्षमा छैनौं', ती नेताले भने।
फागुन १२, २०७८ बिहीबार १८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।