गठबन्धनको भत्किनु अनिवार्य : योगेश भट्टराई

काठमाडौं : एमाले सचिव योगेश भट्टराईले गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गराएको आरोप लगाएका छन्। बिहीबार संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले यसको जिम्मा गठबन्धनले लिनुपर्ने बताए।
‘गुटमा संकट आए पार्टीमा थोपर्ने, पार्टीमा संकट आए गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट ठान्ने काम गरिएको छ, तर वास्तवमा यो गठबन्धनको सर्वथा असफलता हो,’ भट्टराईले भने, ‘यसले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गरेको छ। यसको सबै जिम्मा गठबन्धनले लिनुपर्छ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग संवाद गरे पनि आफूहरुले उठाएको कुरा सम्बोधन नगरी खाली चेकमा सही गर्न आग्रह गरेको पनि भट्टराईले बताए।
‘हामीले उठाएका कुरा सम्बोधन नगरी ब्ल्यांक चेक दिनूस् भन्नुभएको छ, एमालेले ब्ल्यांक चेक दिँदैन। ब्ल्याक एण्ड ह्वाइट नै हुनुपर्छ’, उनले भने।
यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ। त्यसैले यो छिटो भत्किनुपर्छ,’ उनले भने।
प्रमुख विपक्षी दलका सांसद भट्टराईले एमसिसी पारित गर्ने दायित्व सत्तापक्षको भएकाले आफूहरु यस विषयमा अहिले नबोल्ने बताए।
फागुन १२, २०७८ बिहीबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।