युक्रेनी सेनाले पाँच रुसी प्लेन र एक हेलिकप्टर खसाल्यो, बेलायती प्रधानमन्त्रीले बोलाए कोब्रा मिटिङ

एजेन्सीः रुस र युक्रेनबीच अहिले तनावपूर्ण परिस्थिति सृजना भएको छ। रुसी सेनाले यतिबेला युक्रेनको सीमाभन्दाअगाडि बढिसकेको छ भने युक्रेनको संसद्ले सैनिक कानून (मार्सल ल) लागू गरिसकेको छ।
यही तनावका बीच युक्रेनले रुसको पाँच वटा हवाइजहाज र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ। 'शान्त हुनुहोस् र युक्रेनी सेनामाथि विश्वास गर्नुहोस्', युक्रेनको सेनाले बताएको छ।
यता रुसको रक्षा मन्त्रालयले भने आफ्नो जहाज खसालिएको कुरा नकारेको छ। रुसको सेनाले युक्रेनको उत्तरी चेर्निहिभ र सुमी क्षेत्रबाट सीमा पार गरिसकेको छ। त्यसक्रममा युक्रेनको सीमा सुरक्षा बलसँगको धरपकडमा केही युक्रेनी सेना घाइते भएका छन्।
यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जनसनले मन्त्रिपरिषद्को आपत्कालीन कोब्रा मिटिङ बोलाएका छन्। तल्लो सदनलाई सम्बोधन गर्नुपूर्व जनसनले कोब्रा मिटिङ बोलाएका हुन्।
राष्ट्रिय र क्षेत्रीय संकट उत्पन्न भएको खण्डमा बेलायतमा कोब्रा मिटिङ बोलाइने गरिन्छ।
फागुन १२, २०७८ बिहीबार १३:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।