माओवादीले एमसीसी गिजोल्दै गर्दा अर्थमन्त्री संसद् बैठक 'बङ्क' गरेर पर्वतमा

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। आजबाट संसद् बैठकमा एमसीसीबारे छलफल सुरु हुने भएकाले यतिबेला नेताहरूको दौडधुप बाक्लिएको छ।
प्रचण्ड बालुवाटार पुग्नुअघि अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको छलफलमा 'मत विभाजनमा जाँदा के हुन्छ?' भन्ने छलफल भएको थियो।
अर्थमन्त्री उपत्यका बाहिर
यता संघीय संसद् सचिवालयको सूचनाअनुसार आज दिउँसो १ बजे अर्थमन्त्री जनार्दन शर्माले संसद्मा एमसीसी छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको छ। तर, अर्थमन्त्री शर्मा भने संसद् छलेर बुधबार नै पर्वत पुगेका छन्।
उनी बिहीबार दिउँसो २–३ बजेसम्म पर्वतमा हुने बताइएको छ। ८ गते संसद बैठकमा एमसीसी पेश गर्ने बेला पनि मन्त्री शर्माले बैठक बङ्क गरेका थिए। शर्मानिकट एक नेता भने पर्वतको कार्यक्रम निकै पहिले तय भएको थियो।
'आइतबारको संसद्मा अर्थमन्त्रीले एमसीसी पेश गर्ने कार्यसूची थियो। पछि सञ्चारमन्त्रीले पेश गर्नुभयो। संसद्मा छलफलका लागि अरू कोहीले पेश गर्दा पनि फरक पर्दैन भनेर उहाँ पर्वत पुग्नुभएको हो', ती नेताले भने।
फागुन १२, २०७८ बिहीबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।