गठबन्धनले साथ नदिए एमालेको सहयोगमा एमसीसी पारित गर्ने: कांग्रेस नेता पौडेल

तनहुँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्बाट एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन टुट्न सक्ने बताएका छन्। तनहुँमा आज प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन टुट्न सक्ने बताएका हुन्।
यस्तै उनले गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी नेकपा एमालेको साथ लिएर भए पनि एमसीसी पारित गरिने बताए। “सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ”, उनले भने।
यस्तै पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे। पौडेलका अनुसार एमसीसी अमेरिकी जनताको उपहार भएको र एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको छ।
“एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो”, उनले भने, “जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ।”
फागुन १२, २०७८ बिहीबार १०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।