एमसीसीमाथि आजबाट संसद्मा छलफल हुने

एमसीसीमाथि आजबाट संसद्मा छलफल हुने

काठमाडौंः विवादास्पद बनेको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)माथि आजबाट संसद्मा छलफल हुने भएको छ। आजको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा एमसीसी पनि समावेश गरिएको छ।

संसद्को सम्भावित कार्यसूचीलाई कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्तिम रूप दिनेछ। संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भनेर प्रस्ताव पेश गर्नेछन्।

यद्यपि अर्थमन्त्री शर्मा हिजै कुश्मा गएकाले आज उनी संसद् बैठकमा उपस्थित हुने सम्भावना न्यून छ। उनी पर्वत उद्योग वाणिज्य संघको साधारण सभामा सहभागी हुन कुश्मा पुगेका हुन्। यसअघि संसद्मा एमसीसी अनुमोदनका लागि पेश हुँदा पनि शर्मा बिरामी भएको भन्दै अनुपस्थित थिए।

यता सत्ता गठबन्धन दलहरू नै एमसीसीका बारेमा पक्ष-विपक्षमा रहेका छन्। एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने बताइरहेको छ भने माओवादी केन्द्रले पनि विरोध जनाइरहेको छ। नेपाली कांग्रेसले भने आजको प्रतिनिधि सभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशनले एमसीसी संसद्बाट पारित गर्ने म्याद फागुन १६ गतेसम्मलाई मात्र दिएको हुँदा यतिबेला प्रधानमन्त्रीको सक्रियता बढ्दो छ।

फागुन १२, २०७८ बिहीबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।