अपरहणमा परें भन्दै प्रेमिकासँग लुकेर बस्ने रघुनाथ पक्राउ

काठमाडौंः आफूलाई अज्ञात व्यक्तिले अपहरण गरेर बन्धक बनाई राखेको भन्दै परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझा रहेका छन्।
उनलाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए। जोशीका अनुसार ओझाले आफू अध्ययनरत चितवन जिल्लाबाट दाइको बिहेमा जाने भन्दै गत माघ २० मा घरपरिवारलाई खबर गरेका थिए। उनी सोही मितिबाट सम्पर्कविहीन रहेको अवस्थामा घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफूलाई अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाएको भनि झुटो बहाना गरेका थिए।
यता घरपरिवारको समन्वयमा अनुसन्धान हुँदै जाँदा उनी आफ्नो प्रेमिकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको देखिएको र आफ्नो साथमा रहेको रकम सकिएपछि पोखराबाट घरतर्फ आएको देखिएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
फागुन १२, २०७८ बिहीबार ०७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।