उपत्यकामा जथाभावी पार्किङ गर्ने १३७ सवारीसाधन कारबाहीमा

उपत्यकामा जथाभावी पार्किङ गर्ने १३७ सवारीसाधन कारबाहीमा

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीका अनुसार ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेशन चलाइएको हो।

सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन उक्त अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिइएको छ।

महाशाखाले अभियानको पहिलो दिन बुधबार ललितपुरबाट ३७ सवारी साधनलाई कारबाही गरेको छ। ट्राफिक प्रहरीले आवागमनमा असर पर्ने गरी पार्किङ नगर्नसमेत सचेत गराएको छ । यता बौद्ध क्षेत्रमा गरिएको स्वीप अपरेशनमा १०० सवारी साधनलाई कारबाही गरिएको छ भने आसपासका अन्य सडकमा पार्किङ व्यवस्थापनसमेत गरिएको महाशाखाले जनाएको छ।

कोरिडोर सडकमा हुने सवारी तथा पार्किङ व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोष्टसमेत स्थापना गरिसकेको छ।

फागुन ११, २०७८ बुधबार २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।