न्याय परिषदद्वारा विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस

काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा न्याय परिषद्को बैठक बसेको छ।
कामु प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा बसेको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का, नेपाल बार र प्रधानमन्त्रीको सिफारिसमा नियुक्त रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारीको सहभागिता थियो।
बुधबार बसेको परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस गरेको छ । विशेष अदालतको अध्यक्षका लागि १ जना र सदस्यका लागि ५ जनाको नाम सिफारिस गरिएको हो।
विशेष अदालतको अध्यक्षका लागि उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेका न्यायाधीश श्रीकान्त पौडेलको नाम सिफारिस भएको छ।
सदस्यका लागि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारुको नाम सिफारिस भएको छ।
६ न्यायाधीश रहने व्यवस्था भएको विशेष अदालतमा गत साउन १ देखि अध्यक्षसहित चार न्यायाधीशको पद रिक्त छ। बैठकले सिफारिस गरेका व्यक्तिबाट सरकारले नाम छनोट गर्नेछ।
फागुन ११, २०७८ बुधबार १९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।