एमसीसी पारित गराउन दौडधुप: प्रधानमन्त्री खुमलटार, गृहमन्त्री ओली भेट्न बालकोटमा

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण बालकोट पुगेका छन्। भोलि १२ गते बस्ने संसद् बैठकमा एमसीसी पास गराउन सहमति जुटाउन खाँण बालकोट पुगेका हुन्।
यसअघि हिजो बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीचको भेटमा पनि एमसीसी पास गर्न सघाउन देउवाले आग्रह गरेका थिए। ओलीले भने आफूहरूको माग पूरा हुनुपर्ने बताउँदै आएका छन्। एमालेले १४ सांसदको कारबाही र सभामुखको राजीनामालाई बटमलाइन बनाउँदै आएको छ।
आजको गृहमन्त्रीसँगको भेटमा पनि सत्ता गठबन्धन र एमसीसीकै बारेमा थप छलफल हुने बताइएको छ।
यता आजै बिहान देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेका छन्। एमसीसी पारित गर्ने समयसीमा फागुन १६ गते र भोलि बस्ने संसद् बैठकमा पारित हुने सम्भावना भएकाले प्रधानमन्त्री-गृहमन्त्रीसहित नेपाली कांग्रेसका नेताहरूले यतिबेला दौडधुप बढाएका छन्।
फागुन ११, २०७८ बुधबार १०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।