धरान हत्या घटना : 'कान्छी श्रीमतीले श्रीमानको हत्या गरेर टाउको झोलामा राखेर फालिन्'

धरान हत्या घटना : 'कान्छी श्रीमतीले श्रीमानको हत्या गरेर टाउको झोलामा राखेर फालिन्'

काठमाडौँ : टाउको एकातिर अनि जिउँ अर्कोतिर फेला परेको व्यक्ति दिनेश सिग्देल रहेको बल्ल बल्ल पहिचान गरेको प्रहरीले हत्या आरोपमा उनकै कान्छी श्रीमतीलाई पक्राउ गरेको छ।

शव फेला परेपछि प्रहरीले अनुहारको अनुमानित स्केच बनाएर सार्वजनिक गर्दा बल्ल सो शव सिग्देलको भएको पुष्टि भएको थियो। व्यक्ति पत्ता लगाएको २४ घण्टा नबित्दै सुनसरी प्रहरीले हत्या आरोपमा उनकी कान्छी श्रीमती अनिता केसीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। प्रहरीले हत्यामा सहयोग गरेको आरोपमा २९ वर्षका सरोज भण्डारीलाई समेत मङ्गलवारै पक्राउ गरेको छ।

वैदेशिक रोजगारीबाट पुस २० गते नेपाल फर्किएका उनी लगत्तै हराएका थिए। प्रहरीका अनुसार उनी फर्किएको तेस्रो दिनमै हत्या भइसकेको थियो। श्रीमतीको योजनामा सिग्देल बस्ने कोठामै उनको हत्या गरेर मेसिन र खुकुरी प्रयोग गरेर शव टुक्रा बनाएर उनीहरूले ट्याम्पोमा राखेर धरान पूर्याएका थिए।

उनीहरूले एउटा जेब्रा झोलामा टाउको खुट्टाको भाग राखेर फाले। अर्कोमा शरीरको बाँकी भाग राखेर भेडेटार सडक खण्डमा रहेको जङ्गलमा लगेर शव फालेका थिए। शव फालेको २ महिनापछि मात्र फेला परेको थियो। शव सडकभन्दा करिब १० मिटर तल भिरमा भेटिएको थियो।

टाउको र खुट्टा फेला परे पनि कसको हो खुल्न सकेको थिएन।  दोस्रो दिन शरिरका अन्य भाग फेला पर्यो। तर अनुहार पहिचान गर्न सक्ने अवस्थामा थिएन। प्रहरीले अनुहारको अनुमानित स्केच बनाएर सार्वजनिक गरेपछि सिग्देलका परिचितले पहिचान गरेका थिए।

घटनामा परिचित संलग्न रहेको शङ्का गर्दै अनुसन्धान अगाडि बढाएको प्रहरी आखिर उनकै कान्छी श्रीमतीमा पुग्यो र पक्राउ गर्यो। 

फागुन १०, २०७८ मंगलबार २१:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।