एमसीसी अनुमोदनमा सहयोग गर्न एमालेलाई देउवाको आग्रह

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् ।
मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । देउवाले करिब २ घण्टा उनीहरूसँग छलफल गरेका थिए ।
नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीले गठबन्धनभित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिए ।
‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो,’ रिजालले भने ।
एमाले अध्यक्ष ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रकृयामा प्रवेश नगर्ने बताएको उनको भनाइ छ । ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरू राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ,’ उनले भने ।
भेटवार्तामा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।
फागुन १०, २०७८ मंगलबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।