प्रहरीका शक्तिशाली एसपी जसले अवकाश पाएको ८ वर्षसम्म जागिर खाइरहे

काठमाडौँ : नेपाल प्रहरी सङ्गठनभित्र शक्तिशाली प्रहरी अधिकृतको रूपमा परिचित एसपी दीपकराज खरेलले अवकाश पाए पनि ८ वर्षसम्म प्रहरी पोसाक लगाएर जागिर खाएको खुलेको छ।
३० वर्षीय अवधि अनुसार उनले २०६९ मै अवकाश पाइसकेका थिए। उनले बढी अवधि जागिर खाएको खुलेपछि २०७५ मा प्रहरी किताब खानाले उनलाई अवकाश पत्र पठाएको थियो।
किताब खानाको पत्रको विरुद्धमा उनी रिट बोकेर सर्वोच्च गएका थिए। आज मङ्गलवार सर्वोच्चले उनको रिट खारेज गरेपछि उनले अवकाश पाएको ८ वर्षसम्म सुरक्षा सङ्गठनमा एसपी भएर सरकारी सेवा सुविधा लिएको पुष्टि भएको हो।
मङ्गलवार न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासले खरेलको रिट खारेज गरिदिएको थियो। उनले २०७७ सम्म जागिर खाए पनि अब उनको अवकाश २०६९ चैत १२ मै गणना हुनेछ।
खरेल अधिकांश समय प्रहरी महानिरीक्षकको सचिवालयमा काम गरेका प्रहरी अधिकृत हुन्। अच्युतकृष्ण खरेलका प्रिय उनी २०५४ मा प्रहरी सेवाबाट हटाउँदा पछि उनै खरेलले पुनर्बहाली गराएका थिए।
उनी २०३९ चैत १३ मा तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र हेटौँडाबाट प्रहरी जवान पदमा भर्ना भएको देखियो। उनी प्रहरीमा गयल भएर २०५४ मा उनलाई सङ्गठनले जागिरबाट हटाएको देखिन्छ।
२०५५ साउन १ मा उनी पुन सङ्गठनमा पुनर्बहाली भए। तर उनले २०५५ मङ्सिर १८ मा प्रहरीमा भर्ना भएको दाबी गरेका थिए। उनले २०५५ मा हवल्दारबाट राजीनामा दिएर २०५५ मङ्सिरमा प्राविधिक जवानमा भर्ना भएको देखिन्छ।
फागुन १०, २०७८ मंगलबार २१:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।