पत्रकार महासङ्घ केन्द्रविरुद्ध आठ प्रदेश अध्यक्षको विद्रोह

पत्रकार महासङ्घ केन्द्रविरुद्ध आठ प्रदेश अध्यक्षको विद्रोह

काठमाडौँ : नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति विरुद्ध आठ प्रदेश अध्यक्षले विद्रोह गरेका छन्। केन्द्रले विधानमा रहेको प्रदेश समितिको क्षेत्राधिकार मिचेपछि १० मध्ये आठ प्रदेश अध्यक्षहरू एक भएका हुन्।

महासङ्घको पुस ३० को तिलौराकोटमा भएको केन्द्रीय समितिको बैठकले प्रदेशको अधिकार क्षेत्रभित्र प्रवेश गर्दै संयोजक तोक्ने र विधान अनुसार प्रदेशले स्वीकृत गर्ने सदस्यता अनलाइनको बहानामा आफैँले लिने सर्कुलर गरेपछि आठ प्रदेशका अध्यक्षहरूले संयुक्त विज्ञप्ति निकालेर अवज्ञाको चेतावनी दिएका छन्।

संयुक्त विज्ञप्तिमा उल्लेख भए अनुसार फागुन ९ मा महासङ्घले पठाएको परिपत्रमा महासङ्घको बैठकले सङ्घीयताको मर्म र भावना विपरीत प्रदेश समितिहरूलाई कमजोर बनाउने गरी विधान विपरीत ‘केन्द्रीय समितिको तर्फबाट सम्बन्धित प्रदेश तथा जिल्ला शाखासँग समन्वय गर्नका लागि सम्बन्धित प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये धेरै मत ल्याउने संयोजक र अर्का केन्द्रीय सदस्य उपसंयोजक रहने गरी प्रादेशिक समन्वय समिति गठन गर्ने निर्णय’ गरेकोमा असहमति जनाइएको छ।

'विधानले नचिन्ने प्रादेशिक समन्वय समितिप्रति हाम्रो असहमति हो। महासङ्घको विधानले कतै नचिन्ने समिति गठन गरेर प्रदेश र शाखालाई अङ्कुश लगाउने गरी गठन भएका र आगामी दिन गठन हुने यस्ता समिति हामीलाई मान्य हुँदैन,' विज्ञप्तिमा भनिएको छ।

विधान विपरीत गरिने कुनै पनि कार्यमा साथ, समर्थन, सहयोग र सहभागिता नरहने भन्दै उनीहरूले विधान भन्दा बाहिर गएर गरिएका निर्णयहरू तत्काल संशोधन गर्न केन्द्रीय समितिसँग माग गरेका छन्।

महासङ्घको सदस्यता वितरण गर्ने अधिकार विधानले शाखाहरूलाई प्रदान गरेको र शाखा वा एशोसियट संस्थाले छानबिन गरी योग्यता पुगेका आवेदकको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि सम्बन्धित प्रदेश समितिमा पठाउनुपर्ने विधानमा व्यवस्था रहे पनि केन्द्रीय समितिको निर्णय उल्लेख गर्दै ‘न्यु मिडियालगायत सञ्चार क्षेत्रलाई थप जिम्मेवार बनाउन समय अनुकूलका तालिम सञ्चालन गर्ने, सदस्यता आवेदन, नवीकरणलगायतका काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउने निर्णयले विधानले दिएको अधिकारमाथि हस्तक्षेप भएको उनीहरूको मत छ।

'समय अनुकलन महासङ्घ ‘अपग्रेड’ गर्दै डिजिटल महासङ्घ बनाउने कुरामा हाम्रो पूर्ण साथ र समर्थन रहन्छ। तर, त्यसका नाममा सदस्यता वितरण र नवीकरण आफू मातहतमा ल्याउने दूषित मनसाय यसमा लुकेको स्पष्ट हुन्छ,' विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा प्रदेश १ का लिलाबल्लभ घिमिरे, मधेस प्रदेशका राजेश कर्ण, बाग्मती प्रदेशका शिव देवकोटा, गण्डकीका  नारायण शर्मा, सुदूरपश्चिमका योगेश रावल, उपत्यकाका सृजन झा, प्रतिष्ठान प्रदेशका बालकृष्ण अधिकारी र एसोसिएट प्रदेशका अध्यक्ष  वैकुण्ठ पराजुलीले हस्ताक्षर गरेका छन्।

फागुन १०, २०७८ मंगलबार २०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।