लेनदेन विवादमा तारले कसेर साथीको हत्या

मोरङ : भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिक पक्राउ परेका छन्।
विकले मिणालाई लेनदेनको विषयमा वादविवाद हुँदा हत्या गरी उदयपुरको सृष्टि जङ्गलमा फालेको खुल्न आएपछि इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। मोरङ कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधीन पुलमा पायलिङ मेशिनको काम गर्दै आएका मिणा गत माघ २६ गतेदेखि सम्पर्कमा नरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा फागुन ७ गते जङ्गलमा उनको शव फेला परेको थियो।
पुलको ठेक्कापट्टा गर्ने बिक र मृतक मिणाबिच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम गर्ने भनी सम्झौता भए अनुसार विगत डेढ महिनादेखि डास खोलामा काम गर्दै आइरहेकोमा माघ २३ गते बिकको वीरगन्जस्थित अर्को साइड हेर्न भनी बिआर ०१ बिसी ५६९७ नम्बरको गाडीमा दुवै जना वीरगन्ज गएका र माघ २५ गते फर्किएर बिकको घर कटारी जाँदै गर्दा बाटोमा लेनदेन सम्बन्धी विवाद भएको प्रहरीले जानकारी दिएको छ।
रक्सी पिएका विकले वादविवादको क्रममा मिणाको घाँटीमा केबल तारले कसेर हत्या गरेको र शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारीबाट ३० किलोमिटर माथि जङ्गलमा लगी फालिदिएको अनुसन्धानबाट खुल्न आएको छ।
विकले मृतकको मोबाइल कोसी नदीमा फाली गाडी भारतीय बजार भिमनगर लगेर बेवारिसे अवस्थामा छोडेर फर्किएको समेत अनुसन्धानबाट खुल्न आएको छ।
फागुन १०, २०७८ मंगलबार १९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।