एमसीसीको विरोधमा हिंसात्मक गतिविधि नगर्नू : गृह

एमसीसीको विरोधमा हिंसात्मक गतिविधि नगर्नू : गृह

काठमाडौं : एमसीसीको विरोध प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि नगर्न सरकारले आग्रह गरेको छ।

मंगलबार साँझ गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै फागुन ८ गते भएका प्रदर्शनका क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गर्दै घटनाको छानबिन भइरहेको जनाएको छ ।

‘यस्ता हिंसात्मक कार्यहरूप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेका छन् । साथै, यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरतापूर्वक निगरानी गरिरहेको छ,’ गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

सरकार नागरिकको जिउ धनको सुरक्षा गर्न तत्पर रहेको उल्लेख गर्दै प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उच्च संयमता अपनाइएको गृहले बताएको छ। मन्त्रालयले सार्वजनिक तथा निजी सम्पत्ति नाश गर्ने काम पनि नगर्न भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्याउने कार्य नगरिदिनु हुन नेपाल सरकार सम्बन्धित सबैमा ध्यानाकर्षण गराउँछ। ’  

फागुन १०, २०७८ मंगलबार १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।