किन भटाभट समातिइरहेका छन् चिनिया नागरिक ?

किन भटाभट समातिइरहेका छन् चिनिया नागरिक ?

काठमाडौँ : उपत्यकाका प्रहरी कार्यालयहरूले सोमबारबाट काठमाडौँ उपत्यकामा बस्ने चिनिया नागरिक पक्राउको क्रमलाई तीव्र बनाएका छन्। सोमबार महानगरीय प्रहरी वृत्त बानेश्वरले मध्य बानेश्वर क्षेत्रबाट चिनिया नागरिकसहित ३७ जनालाई पक्राउ गरेको थियो। प्रारम्भमा भिआइपीमा संलग्न दाबी गरिए पनि पछि प्रहरीले उनीहरूले कल सेन्टरको आवरणमा एप्सबाट भारतीय नागरिकलाई ऋण प्रवाह गरेर चर्को रकम असुल्ने गरेको देखिएको बताएको थियो।

पक्राउ पर्नेमा एक जना चिनिया नागरिक र बाँकी सबै नेपाली नागरिक थिए। उनीहरूले कल सेन्टर भन्दै नेपालीलाई काममा लगाएर तीन वटा एप्समार्फत अवैध आर्थिक कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीको दाबी छ।

उता मङ्गलवार महानगरीय प्रहरी परिसर भक्तपुरले सानो ठिमी क्षेत्रबाट प्रहरीले चिनिया नागरिक सहित ७५ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ। भक्तपुरको वृत्तमा राखिएको छ।

सानो ठिमी क्षेत्रमा सात तले घर भाडामा लिएर चिनिया नागरिक वान जी हाउँले अनलाइन व्यापार भन्दै मध्य बानेश्वरकै शैलीमा डिजिटलमार्फत अवैध आर्थिक कारोबार गरेको सूचनाको आधारमा छापा मारिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए।

पक्राउ परेका ७५ जनामा एक जना मात्र चिनिया हुन्। बाँकी सबै नेपालीहरू। नेपालीमा पनि अधिकांश महिलाहरू रहेको प्रहरीले जानकारी दिएको छ। राठौरका अनुसार चिनिया नागरिकले नेपालीहरूलाई अनलाइन बिजनेस भनेर काममा लगाउने गरेको देखिएको छ।

उनीहरूले अनलाइन बिजनेसभन्दै तीन वटा भिन्न भिन्न एप्सबाट आर्थिक कारोबार गर्ने गरेको र क्रिप्टो करेन्सीको कारोबारमा समेत उनीहरू संलग्न रहेको हुनसक्ने उनले जानकारी दिए।

'अहिले प्रहरी अनुसन्धानको प्रारम्भिक चरणमै रहेकाले विस्तृत खुलिसकेको छैन। देखिएको अनलाइन बिजनेसको आवरणमा अवैध आर्थिक गतिविधि नै हो। अनुसन्धानमा थप कनेक्सन खुल्न सक्छ।'

भिजिट भिसामा आएर धन्दा

पर्यटन प्रवर्द्धन गर्ने भन्दै चिनिया नागरिकलाई फ्री भिसाको सुविधा दिएपछि पछिल्लो समय भिजिट भिसामा आउने चिनिया नागरिकहरू समेत नेपालमा विभिन्न व्यापार र व्यवसायमा संलग्न हुने क्रम बढेको छ।

ठमेल लगायतका व्यापारिक क्षेत्रहरूमा चिनिया नागरिकहरूले अवैध रूपमा होटल समेत चलाएर बसेका छन्। उनीहरू नेपालमा बसेर विभिन्न देशमा साइबर क्राइम गर्ने र उनीहरूले डिजिटल माध्यमबाट अनलाइन गेम खेलाउने, अनलाइन क्यासिनो खेलाउने लगायतका अवैध आर्थिक गतिविधि गरेको भन्दै दुई वर्ष अगाडि प्रहरीले करिब १६ हजार बढी चिनिया नागरिकको सूची बनाएर छापा मारेको थियो।

अनलाइनमार्फत ठगी गरेको आरोपमा २ वर्ष अगाडि पक्राउ परेर डिपोर्ट भएका चिनिया नागरिक

चीन सरकारसँग समेत सहकार्य गरेर यता प्रहरी अप्रेसन सुरु गर्दा प्रहरीको चुकका कारण एक सय ७२ जना मात्र पक्राउ परेका थिए। सहयोगी मात्रै पक्राउ परे भने मुख्य नाइके भागिसकेका थिए। पक्राउ परेकाहरूलाई नेपालले डिपोर्ट गरेर चीन पठाएको थियो।

चिनिया नागरिकको अपराध कनेक्सन

विभिन्न आवरणमा नेपालमा बस्दै आएका चिनिया नागरिकहरू विभिन्न अपराधमा प्रत्यक्ष संलग्न हुने गरेको देखिन्छ। मुख्य गरी उनीहरू सङ्गठित अपराध वन्यजन्तुको अखटोपहार, अवैध डलर तस्करी, जडीबुटी तस्करी, सुन तस्करीमा संलग्न हुने गरेको देखिन्छ।

दोस्रो तहमा उनीहरू एटिएम ह्याकदेखि लिएर नक्कली रक्सी उत्पादनमा समेत संलग्न हुने गरेका छन्।

फागुन १०, २०७८ मंगलबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।