रुसको कदम संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत भएको ठहर

रुसको कदम संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत भएको ठहर

एजेन्सीः रुसले पूर्वी युक्रेनको डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएसँगै सुरु भएको तनावले यतिबेला उग्र रूप लिएको छ। रुसको घोषणालगत्तै बसेको संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठकमा अधिकांशले रुसको कदमको भर्त्सना गरेका छन्।

रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको विपरीत भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन्। यस्तै सो निर्णय संयुक्त राष्ट्रसंघको बडापत्र विपरीत भएको पनि उनको टिप्पणी रहेको छ।

'युक्रेनको डोनेस्क र लुहान्स्क क्षेत्रको स्थितिसँग सम्बन्धित रूसी संघको निर्णयबाट महासचिव धेरै चिन्तित हुनुहुन्छ। उहाँले मिन्स्क सम्झौताअनुसार पूर्वी युक्रेनमा द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि आह्वान गर्नुभएको छ जुन सुरक्षा परिषद्ले प्रस्ताव २२०२ (२०१५) मा अनुमोदन गरेको हो', प्रवक्ता डुजारिकले बताए।

यतिबेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बसिरहेको छ।

फागुन १०, २०७८ मंगलबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।