टिपर दुर्घटनामा चार जनाको मृत्यु भएपछि पाटन नगरपालिकाले दियो शोक बिदा

टिपर दुर्घटनामा चार जनाको मृत्यु भएपछि पाटन नगरपालिकाले दियो शोक बिदा

बैतडीः जिल्लाको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ। सोमबार अपराह्न भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो।

पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा विद्यार्थीको समेत मृत्यु भएकाले शैक्षिक संस्थामा शोक बिदा दिइएको हो। 

मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन्।

राजेन्द्रको उपचारका क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। अरूको घटनास्थलमै मृत्यु भएको हो।

सोही दुर्घटनामा परेर अन्य पाँच घाइते भएका छन्। घाइते हुनेहरूमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षीय सुनिल भट्ट, अमित विष्ट र १२ सुदीप पन्त तथा महेशप्रसाद पन्त रहेका छन्। 

उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी सिफारिस गरिएको छ भने अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु भएका तीन जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको शव डडेल्धुरा अस्पतालमा रहेको छ। गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नम्बरको टिपर सोमबार अपराह्न भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो।

विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिपरमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो। दुर्घटनाग्रस्त टिपर सडकबाट ३०० मिटर तल खसेको थियो।

टिपरका चालक रमेश विष्ट हाल प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।

फागुन १०, २०७८ मंगलबार १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।