विवेक र मनोजको जोडीलाई ‘लाफा’ बी लेभल ब्याडमिन्टन प्रतियोगिताको उपाधि

बुटवलः लाफा समूहको आयोजनामा बुटवलमा सम्पन्न ‘लाफा मेन्स डबल्स खुला बी लेभल' तथा 'भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८' को उपाधि आयोजक लाफाकै विवेक न्यौपाने र मनोज फौदारको जोडीले हात पारेका छन्। सुख्खानगरस्थित लाफा कभर्ड हलमा सम्पन्न खेलमा बुटवल ब्याडमिन्टन क्लबका गणेश रायमाझी र विधान गुरुङको जोडीलाई २६-२४, २१-१९ को सोझो सेटमा पराजित गर्दै उनीहरूले उपाधि हात पारेका हुन्।
विजेता न्यौपाने र फौदारको जोडीले नगद ३५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। उपविजेता रायमाझी र गुरुङको जोडीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाए।
खेलमा लाफा समूहका सुशील गिरी र बिञ्जन बस्नेतको जोडी तथा दाङका हिमान्सु कुँवर र सुरज गुप्ताको जोडी तृतीय हुँदै नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन्।
भेट्रान्सतर्फको उपाधि (बुटवल ब्याडमिन्टन)का वीरेन्द्रसिंह विष्ट र अनिल लाखेको जोडीले हात पारेका छन्। फाइनलमा (एमजी क्लब) का वसन्त घर्तीमगर र पुरन रानामगरको जोडीलाई २१–१७, २१–१४ को सोझो सेटमा पराजित गर्दै उनीहरूले उपाधि हात पारेका हुन्।
उपाधिसँगै उनीहरूले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए। उपविजेता घर्तीमगर र रानामगरको जोडीले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा तामनगर ब्याडमिन्टन क्लबका मधु पुलामी र अनिल कुमार शाक्यको जोडी तथा गल्याङ ब्याडमिन्टन क्लबका मनबहादुर थापा र खग्रेन्द्र रेग्मीको जोडी तृतीय हुँदै नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन्।
लाफाका मनोज फौदार प्रतियोगितामा सर्वोत्कृट खेलाडी घोषित हुँदै पुरस्कृत भए।
एक समारोहका बीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई शिवनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायणबहादुर घिमिरे, समूहका अध्यक्ष तारा रेश्मीमगर, क्लबका संरक्षक बासुदेव लामिछाने, उपाध्यक्ष बबिन थापा, निवर्तमान अध्यक्ष केशब रानाले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा लुम्बिनी प्रदेशसहित चितवन, मनाङ, स्याङ्गजा, बाग्लुङ्ग र दाङका गरी खुलातर्फ ६४ र भेट्रानतर्फ ३२ टीमले भाग लिएको सञ्योजक सुरज थापाले बताए। आयोजकले हरेक ३ वर्षमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ।
फागुन १०, २०७८ मंगलबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।