अपहरणमा परेका बालबालिकाको उद्धार गर्ने प्रहरी युनिटलाई सम्मान

अपहरणमा परेका बालबालिकाको उद्धार गर्ने प्रहरी युनिटलाई सम्मान

बुटवलः रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ का प्रसिद्ध र प्रसन्ना दाहाललाई अपहरकारीबाट सकुशल उद्धार गर्ने प्रहरी युनिटलाई प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको छ। सैनामैना नगरपालिका वडा नं. ४ बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुलमा पढ्न हिँडेका उनीहरूलाई मुर्गीमा उनीहरूकै आफन्त पर्ने खेमबहादुर पौडेल क्षेत्रीले अपहरण गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालिबालिका बेपत्ता भएको खबर प्राप्त गरेको २४ घण्टाभित्रै अपहरण गर्ने पौडेल र दाजु बहिनीलाई झापाको विर्तामोडबाट ६ फागुनमा सकुशल उद्धार गरेको थियो। घटना गत फागुन ५ गते भएको थियो।

प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले नगदसहित पुरस्कार प्रदान गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीसहित प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी, प्रहरी निरीक्षक जीवन लामिछाने, भाष्कर चन्द, बाबुराम बस्नेतलाई कार्यालयले पुरस्कृत गरेको हो।

त्यस्तै प्रहरी सहायक निरीक्षक मनिष थापा, राजुकुमार विक, प्रहरी हवल्दार वीरबहादुर खड्का, कृष्णबहादुर कार्की, रामसकल अहिर र प्रहरी जवान सागर गोदारसहित १३ जना सम्मानित भएको प्रहरी प्रवक्ता पौडेलले जानकारी दिए।

फागुन १०, २०७८ मंगलबार ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।