टी २० विश्वकपमा पुग्न नेपाल युएईसँग भिड्दै

आजको सेमिफाइनलमा युएईलाई पराजित गरे नेपाल आगामी अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टी२० विश्वकपमा सहभागी हुनेछ।
नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता हुन्। नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता भएको थियो।
नेपाल समूह बी मा ३ खेलमै अपराजित रह्यो। युएई ३ खेलमा २ जितेको थियो। नेट रनरेटको आधारमा उ सेमिफाइनलमा छनौट भएको हो।
नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन, दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रन र अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराएको थियो।
युएईले टेस्ट टोली आयरल्यान्डलाई १८ रन र जर्मनीलाई २४ रनले हराएको थियो। तर बहराइनसँग २ रनले पराजित भयो।
पहिलो सेमिफाइनल खेल ओमान र आयरल्यान्डबिच मंगलबारनै हुनेछ । आयरल्यान्ड समूह ए को विजेता र ओमान समूह बी को उप विजेता हुन्।
नेपाल र युएईबिच ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ र आयरल्यान्ड र ओमानबिच ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा सेमिफाइनल हुँदै छ। फाइनल पुग्ने दुवै टोलीले विश्वकप खेल्न पाउनेछन् । फाइनल बिहीबार हुनेछ।
फागुन १०, २०७८ मंगलबार ०६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।